खोटाङ, २८ भदौ । यस जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ताप खोलामा बाक्सिला र खार्मी जोड्ने पक्की पुल निर्माण हुने भएको छ । हुर्लुङ–जालपा–खार्मी–बाक्सिला सडकखण्डमा पर्ने ताप खोलामा बाक्सिला–८ र खार्मी–३ जोड्ने मोटरेबल पक्की पुल निर्माण हुने भएको हो ।
पक्की पुल निर्माणका लागि यस वर्ष रातो किताबमा योजना परेको सभासद् सरस्वती बजिमयले बताउनुभयो । “पुल निर्माणको योजना रेडबुकमा परेको छ,” उहाँले भन्नुभयो – “अब सर्भेको काम हुन्छ र सर्भेपछि बजेटको टुङ्गो लाग्छ ।”
ताप खोला पुलले उत्तरी क्षेत्रका बाक्सिला, सप्तेश्वर, बास्पानी, सुङ्देललगातका एक दर्जनभन्दा बढी गाविसलाई जोड्ने छ । ताप खोलामा पुल निर्माण भएपछि हुर्लुङबाट बाक्सिलासम्म वर्षात्को समयमा पनि सवारी साधन आवतजावत गर्ने वातावरण बन्ने नेपाली काँग्रेसका युवा नेता समीर राईले बताउनुभयो । 
ताप खोलामा पक्की पुल बन्ने भएपछि उत्तरी क्षेत्रमा बसोबास गर्ने स्थानीयवासी हर्षित भएका छन् । पुल अभावमा यसअघि झेल्दै आएका समस्या पक्की पुल निर्माणपछि समाधान हुने आशामा स्थानीयवासी छन् । 
वर्षात्को समयमा खोलामा पानीको सतह बढेर सवारी साधन आवतजावत बन्द हुने गरेको छ । यो उत्तरी क्षेत्रमा दैनिक उपभोग्य सामग्री ढुवानीमा बढी प्रयोग हुँदै आएको सडक हो । रासस