खोटाङ, भदौ १३– स्थानीयले खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुर वडा कार्यालयमा लगाएको ताला चार दिनपछि खुलेको छ । आर्थिक अनियमितता भएको भन्दै असन्तुष्ट स्थानीयले गत शनिबार लगाएको ताला सहमतीपछि खुलेको हो । 
स्थानीय जोडी महादेबस्थान मन्दीर घेराबारा गरिएको काम लगायत वडाको सबै योजनाको विषयमा पुःन सार्वजनिक सुनुवाई गर्ने, पुराना तथा नयाँ योजनाको बारेमा स्थानीयलाई जानकारी गराउने लगायतका सहमतीपछि वडाको ताला खुलेको हो । 
गाउँपालिकाका प्रमुख लिलानाथ निरौला, उपप्रमुख समला राई, प्रमुख प्रशासकीय अधिकृत प्रज्वल घिमिरे, वडाध्यक्ष यज्ञनारायण श्रेष्ठ, निर्माण उपभोक्ता समितिका पदाधिकारी र असन्तुष्टपक्षबीचमा भएको छलफलपछि ताला खुलाउने सहमती बनेको हो । 
जोडी महादेबस्थान मन्दीर घेराबाराका लागि आर्थिक वर्ष २०७४÷०७५ मा ४ लाख ५० हजार विनियोजन गरिएको भए पनि उपभोक्ता समितिले ३ लाख ५० हजारमा ठेक्का लगाएर फाईदाका लागि गुणस्तरहिन काम गरेको, जानकारी नदिइ सडक निर्माण उपभोक्ता समिति गठन गरेको लगायतका विषयमा असन्तुष्ट जनाउँदै पर्शुराम राईको नेतृत्वको समुहले वडा कार्यालयमा ताला लगाएको थियो ।