असोज–१, नयाँ संबिधानको स्वागतमा युवा संघ खोटाङले दिपावली गरेको छ । आगामी असोज–३ गते जारी गर्न लागिएको नयाँ संबिधानको स्वागतकालागि युवा संघले शुक्रबार साँझ सदरमुकाम दिक्तेलको त्रिबेणीचोकमा दिपावली मनाएको हो । नयाँ संबिधानको स्वागतमा पाँच मिनेट नाराबाजी गरेपछि नेपालको नक्सा कोरेर दिप प्रज्वलन गर्दै दिपावली मनाइएको हो ।

नयाँ संबिधान जारी हुन लागेको खुसीयालीमा दिपावली मनाइएको युवा संघका सगरमाथा अञ्चल उपाध्यक्ष उमेश पौडेलले बताए । दिपावलीमा एमाले बैकल्पिक केन्द्रीय सदस्य राजन राई, एमाले अध्यक्ष बबी चामलीङ, उपाध्यक्ष राम दंगाल, सचिव देबबिक्रम राई लगायले सामुहिकरुपमा दिपप्रज्वलन गरेका थिए ।

खोटाङमा नयाँ संबिधानलाई संयुक्तरुपमा स्वागतको तयारी भइरहेको छ । स्वागत कार्यक्रमको तयारी स्वरुप शुक्रबार स्थानीय शान्ति समितिको कार्यालयमा दलका नेता, बाणिज्य संघ, गैर–सरकारी संघसंस्थाका प्रमुखको बैठक बसेको छ । बैठकमा संबिधानको बिपक्षमा रहेका दललाई समेत स्वागत कार्यक्रममा सहभागीताकालागि प्रस्ताब गरिएको थियो । यद्यपी, संबिधान जारीको बिपक्षमा रहेका दलहरुबाट सो आग्रह स्वीकृत हुन सकेन । 

दिक्तेलमा दिप प्रज्वलन गरेर दिपावली मनाइदै । तस्बिरः हाम्रो खोटाङ डटकम
संबिधान जारी भएको खुसीयालीमा संयुक्तरुपमा बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रमकालागि दलहरुबीच आपसमा छलफल भइरहेको कांग्रेसका जिल्ला सभापति बिष्णुकुमार राईले बताए । असोज ३ गते साँझ दिपावली गर्ने र ४ गते आपसमा बधाई र शुभकामना आदानप्रदान लगायतका कार्यक्रम गर्ने छलफल भइरहेको छ । एमाले अध्यक्ष बबी चामलीङले संयुक्तरुपमा गरिने कार्यक्रमको अन्तिम टुंगो लाग्न बाँकी रहेको बताए ।

संबिधानको स्वागतका लागि गरिने कार्यक्रम अलग–अलग हुन नहुने एमाओबादी जिल्ला सदस्य होमकाजी आचार्यले बताए । ‘संबिधान सबैको हो, एक्ला–एक्लै खुसीयाली नमनाऔँ भन्ने कुरा भइरहेको छ,’ आचार्यले भने ।