असोज–३, जिल्लाको पश्चिमी गाविस धितुङका दलित परिवारले चन्दा उठाएर सडक निर्माण गरेका छन् । हलेसी–धितुङ–रेग्मीटार सडक खण्डमा पर्ने धितुङ–३ का २१ घर दलित परिवारले चन्दा उठाएर सडक निर्माण गरेका हुन् ।

चन्दा संकलनबाट धितुङ–३ स्थित देउरालीडाँडादेखि दलितवस्ती हुँदै बुलापन्थे उच्च मावि जोड्ने डेढ किलोमिटर सडक निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष दर्जिमान परियारले बताउनुभयो । “सडक अभावमा आवतजावतका साथै दैनिक उपभोग्य सामान ल्याउन समस्या थियो ।” उहाँले भन्नुभयो, “त्यसैले प्रत्येक घरपरिवारबाट चन्दा संकलन गरेर सडक निर्माण गरेका हौं ।”

सडक निर्माणका लागि वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेका आफन्तले समेत सहयोग गरेको अध्यक्ष परियारले जानकारी दिनुभयो । स्काभेटरको प्रयोग गरी निर्माण गरिएको उक्त सडक एक लाख ८० हजार रुपैयाँमा पूरा गरिएको उपभोक्ता समितिले जनाएको छ ।

दलित परिवारले निर्माण गरेको सडकले गाविस र स्वास्थ्यचौकीसम्म आवतजावत गर्न सहज भएको स्थानीय ज्ञानदीप कार्कीले बताउनुभयो । सडक अभावमा यसअघि बिरामीहरुलाई स्वास्थ्यचौकीसम्म पु¥याउन कठिनाइ थियो ।