खोटाङ असोज ९,  युवा संघ नेपाल तथा अनेरास्ववियु खोटाङका कार्यकर्ताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिरमा जुत्ताको माला लगाएर कालो मोसो दलेका छन् । नेपालको स्वतन्त्रतामाथि भारत सरकारले हस्तक्षेप गरेको भन्दै शनिबार साँझ विरोधस्वरुप प्रधानमन्त्री मोदीको तस्बिरमा उनीहरुले जुत्ताको माला लगाएर कालो मासो दलेका हुन् ।


भारत सरकारले नेपालको स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप गरेकाले तत्काल रोक्न दवावस्वरुप जुत्ताको माला लगाउनुका साथै कालो मोसो दलिएको युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य दीलचक्र राईले बताए । “नेपाल स्वतन्त्र देश हो ।” सगरमाथा इन्चार्ज समेत रहेका राईले भने, “कुनै देशको दमन हामी सहन सक्दैनौं, पछिल्लो समय भारतले हस्तक्षेप गर्न खोजी रहेको छ । त्यो हाम्रो लागी मान्य छैन ।”

युवा संघ र अनेरास्ववियुले शनिबार सदरमुकाम दिक्तेलमा नाराजुलुससहित बजार परिक्रमा परेको थियो । प्लेकार्डसहितको नाराजुलुसपछि त्रिवेणीचौकमा भारतीय प्रधानमन्त्री मोदीको तस्बिरमा जुत्ताको माला लगाउनुका साथै कालो मोसो दलिएको थियो ।