महासंघको जिल्ला अधिवेशनमा एमाले निकट मानिएका व्यक्तिहरुले एकतर्फी समिति घोषणा गरेपछि आफूहरुले सदस्यता परित्याग गरेको नव किरण सेवा समाज नेपालका अध्यक्ष चक्रकुमार राईले बताउनुभयो । “गैंससकर्मीहरुको साझा संस्था एमालेको भातृ संगठन भएको छ ।” उहाँले भन्नुभयो, “राजनीतिक दलको भातृ संगठनको सदस्य भएर काम गर्नु अप्ठ्यारो हुने भएकाले सदस्यता परित्याग गरेका हौं ।”
जिल्लामा क्रियासिल जन सेवा समाज नेपाल, नव किरण सेवा समाज नेपाल, नव युवा फूलपाती सेवा समाज नेपाल, साकेला क्लव नेपाल, ग्रामिण युवा सशक्तिकरण तथा अनुसन्धान केन्द्र, खोटाङ विकास मञ्च, सगरमाथा तरुण जनजागृति क्लव, एकीकृत विकास मञ्च, खोटाङ सेवा समाज, जनरश्मी सेवा समाज र बरगाँछी युवा क्लवले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर सदस्यता परित्यागको घोषणा गरेको हो । सदरमुकाम दिक्तेलस्थित साकेला क्लव नेपालको कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा संयुक्त विज्ञप्ती जारी गर्दै उनीहरुले अब विशुद्ध साझा संस्था निर्माण गर्ने जनाएका छन् ।
एघार संस्थाका अध्यक्षले हस्ताक्षर गरेको विज्ञप्ती जारी गर्दै जन सेवा समाज नेपालका अध्यक्ष दानबहादुर राईले अब निकट भविष्यमै गैर राजनीतिक तथा विशुद्ध गैंससकर्मीहरुको भेला गरेर साझा संस्था निर्माण गरिने बताउनुभयो । “जिल्लाको विकासमा सरकारी संयन्त्रसँग सहकार्य गर्दै आएको गैससलाई राजनीतिक दलको भातृ संगठन बनाइयो ।” उहाँले भन्नुुभयो, “गैससको नाममा निर्माण गरिएको दलको भातृ संगठनको काम छैन । त्यसैले स्वतन्त्र र निष्पक्ष गैससकर्मी सम्मिलित साझा संस्था निर्माण गर्ने तयारीमा लागेका हौं ।”
महासंघको सोमबार सम्पन्न बाह्रौं साधारणसभा तथा पाँचौं जिल्ला अधिवेशनले विमलकाजी श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेको थियो । सर्वसहमतीको प्रयास असफल भएपछि सचिव र कोषाध्यक्षको स्थान खाली राखेर १३ सदस्यीय समितिको नामावली सार्वजनिक गरेको थियो ।
एमाले निकट भनिएको समितिको उपाध्यक्षमा पूर्णमायाँ तामाङ, सहसचिवमा गणेश राई, सदस्यमा नीलु थुलुङ, उमेश पौडेल, प्रमोद श्रेष्ठ, रमेश राई, सुवाशचन्द्र आचार्य, युवराज रिजाल, ईन्दिरा पोखरेल र सविता ढकाल रहेका छन् । मुख्य पाँच पदमा भएको ‘बार्गेनिङ’मा कुरा नमिलेपछि कांग्रेस, एमाओवादी निकट र स्वतन्त्र गैससकर्मीले अधिवेशनस्थल छाडेर हिँडेपछि निर्वाचन कमिटिले एमाले निकट गैससकर्मीलाई समेटेर महासंघको नयाँ समितिको घोषणा गरेका हुन् ।