
खोटाङ, असोज १४ । भारतीय हस्तक्षेपको बिरोधमा खोटाङमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला जलाइएको छ । नेपालको संबिधान आफू अनूकुल नभएको झोँकमा भारतले नेपालको आन्तरिक मामिलामाथि हस्तक्षेप गरेको बिरोधमा अनेरास्वबियु खोटाङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला
जलाएका हुन् । उनीहरुले बिहिबार सदरमुकाम दिक्तेलस्थित हेलीप्याडमा भारतीय प्रधानमन्त्रीको पुतला जलाएका हुन् । सदरमुकाम दिक्तेलको भवनगैराबाट सुरु भएको नाराबाजी सहितको जुलुसले त्रिबेणीचौक, पूरानो बेसक्याम्प परिक्रमा गर्दै हेलीप्याडमा पुगेर मोदीको पुतला जलाएको हो । बिद्यार्थीले ‘नेपालको स्वतन्त्रतामाथिको हस्तक्षेप बन्द गर, भारतीय बिस्तारबाद मुर्दाबाद, भारतीय हस्तक्षेप बन्द गर, तराई–पहाड–हिमाल, स्वतन्त्र देश नेपाल’ लगायतका नारा लगाउँदै बजार घुमेका थिए ।
अन्र्तराष्ट्रिय सहमती बिपरित भारतले नेपालका बिभिन्न स्थानमा भारतले नाकाबन्दी गरेर हस्तक्षेप गरेको बिरोधमा मोदीको पुतला जलाइएको अनेरास्वबियु खोटाङका अध्यक्ष ओमप्रकाश घिमिरेले बताए । ‘नेपालको संबिधान बनेकामा भारतले छिमेकीको हैसियतले समर्थन जनाउनुपर्नेमा नाकाबन्दी गरेको छ,’ अध्यक्ष घिमिरेले भने, ‘अव भारतीय हस्तक्षेपका बिरुद्ध लडेर देशकालागि योगदान दिने अवशर आएको छ ।’ भारतले नेपालको स्वतन्त्रता र आन्तरिक मामिलामाथि ठाडो हस्तक्षेप गरेको अनेरास्वबियुले जनाएको छ । एक समय ब्रिटिस साम्राज्यबाद बिरुद्ध लडेझैँ पुःन देशभक्त नेपालीले भारतीय साम्राज्यबाद बिरुद्ध लड्नुपर्ने अवस्था आएको अध्यक्ष घिमिरेले जनाए ।
नेपालको स्वतन्त्रतामाथिको हस्तक्षेप रोक्न दवाव स्वरुप गत असोज–९ गते सदरमुकाम दिक्तेलमा युवा संघसँग मिलेर भारतीय प्रधानमन्त्रीको तस्बिरमा जुत्ताको माला लगाएर कालो मोसो दलेको अनेरास्वबियुले बुधबार बिहान पनि दिक्तेल क्याम्पसमा बिरोधसभा गरेको थियो ।
तस्बिर: हाम्रोखोटाङ डटकम