खोटाङ, असोज–१५ । सामुदायिक विकास सेवा केन्द्र खोटाङले ‘लैंगिक हिंसा तथा ट्राफिक नियम’का विषयमा विद्यार्थीलाई जानकारी गराएको छ । केन्द्रले दिक्तेलस्थित माउण्ट एभरेष्ट वोर्डिङ स्कूलका छात्र÷छात्रालाई सहभागी गराएर शुक्रबार ‘लैंगिक हिंसा तथा ट्राफिक नियम’का विषयमा जानकारी गराएको हो ।

समाज हुने अशान्ति, घरेलु हिंसा, यौन दुव्र्यबहार, चेलीबेटी बेचबिखन, बहुविवाह, लैंगिक विभेद तथा सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने उद्देश्यले कार्यक्रम गरिएको केन्द्रका अध्यक्ष सनमान खड्काले बताउनुभयो । “भविष्यका सम्वाहक भनेको विद्यार्थी हुन् ।” उहाँले भन्नुभयो, “त्यसैले लैंगिक हिंसाका बारेमा विद्याथीहरुले खुलेर बिरोध गर्न सकोस भन्ने उद्देश्यले कार्यक्रम गरेका हौं । त्यसका साथै उनीहरुलाई ट्राफिक नियमका बारेमा समेत जानकारी गराइएको छ ।”

खोटाङको सदरमुकाम दिक्तेलस्थित माउण्ट एभरेष्ट वोर्डिङ स्कूलका विद्यार्थीलाई ट्राफिक नियम तथा लैंगिक हिंसा सम्बन्धी जानकारी दिनुहुँदै प्रहरी नायव उपरीक्षक विद्यानन्द माझी । तस्बिरः हाम्रो खोटाङ डटकम

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले जिल्लामा हुनै सबै प्रकारका घटनालाई न्युनिकरण गर्न तत्काल प्रहरीलाई जानकारी गराउन विद्यार्थीलाई आग्रह गर्नुभएको छ । “समाजमा हुने लैंगिक तथा घरेलुहिंसाले कसैलाई पनि फाइदा गर्दैन ।” उहाँले भन्नुभयो, “त्यसैले त्यस्ता घटनालाई न्युनिकरण गर्न तपाईहरुले तत्काल प्रहरीलाई खबर गर्नुहोला ।”

जिल्लामा यातायातका सवारी साधनको बढ्दो चापलाई मध्यनजर गर्दै सवारी दुर्घटनाबाट बचाउन ट्राफिक नियमका विषयमा समेत विद्यार्थीलाई जानकारी गराइएको केन्द्रका सचिव दिलीप खत्रीले जानकारी दिनुभयो । विद्यालयको आफ्नै प्राङ्गणमा गरिएको कार्यक्रममा प्रनाउ माझी, ट्राफिक प्रहरी सहायक निरीक्षक तेजबहादुर बस्नेत र महिला मानव अधिकार रक्षक सञ्जाल खोटाङकी सचिव मुना थापाले सहजीकरण गर्नुभएको थियो ।

जनचेतना कार्यक्रम सपानमा बोल्दै प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले जिल्लाको शान्ति सुरक्षामा कमी हुन नदिने प्रतिवद्धता जनाउनुभएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सापकोटा, स्थानीय विकास अधिकारी निश्चलराज पाण्डे, तीनवटै सुरक्षा निकायका प्रमुख, जिल्ला शिक्षा अधिकारी केशव दाहाल, अभिभावक, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

जिल्लाको विभिन्न ठाउँमा जनचेतना कार्यक्रम गर्दै आएको केन्द्रले यसअघि पञ्च मावि दिक्तेलमा कार्यक्रम गरेको थियो ।