खोटाङ, असोज–१५, खोटाङ उद्योग बाणिज्य संघले कृत्रिम अभाव तथा कालो बजारी नगर्न व्यवसायीलाई आग्रह गरेको छ । बाणिज्य संघले भारतको अघोषित नाकाबन्दीको मारमा परिरहेको अवस्थामा कृत्रिम अभाव सिर्जना गर्दै उपभोक्ताई थप मारमा नपार्न व्यवसायीको ध्यानाकर्षण गराएको हो ।

भारतीय नाकाबन्दीका कारण उपभोग्य सामान आपूर्तीमा कठिनाइ भइरहेको अवस्थामा संघले आफुसँग मौज्दात खाद्यान्न, खाना पकाउने ग्याँस, डिजेल, पेट्रोल, मट्टीतेल लगायतका उपभोग्य बस्तुको कृत्रिम अभाव सिर्जना नगर्न अपिल गरेको छ । बाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालु र महासचिव समुन्द्रप्रसाद जोशीद्धारा जारी अपिलमा भारतीय नाकाबन्दीका कारण सिर्जना भएको अभावको पिडा खेपीरहेका उपभोक्तालाई मौका छोपेर अर्को पिडा नदिन भनिएको छ । ‘भारतीय नाकाबन्दीका कारण उपभोग्य बस्तुको चरम अभाव सुरु भएको छ,’ बाणिज्य संघका अध्यक्ष लयालुले भने, ‘भारतले दिएको पिडा झेलीरहेका उपभोक्तामाथि पिडा होईन सहयोग गर्न आग्रह गरिएको हो ।’

महान चाड दशैं र तिहार नजिकिएसँगै उपभोग्यबस्तुको माग बढिरहेको अवस्थामा बढि संबेदनसिल बन्न र उपभोक्ताको हितमा उभिन हरेक व्यवसायीलाई पत्र पठाएर बाणिज्य संघले आग्रह गरेको छ । संघले भारतीय नाकाबन्दीका कारण सिर्जना भएको संकटपूर्ण घडीमा आफुले निर्धारण गरेको मूल्यासूची अनुशार उपभोग्यबस्तुको बिक्रीबितरण गर्न भनेको छ । व्यवसायीको मर्यादामा आँच आउने र बदनाम हुने भएकाले संबेदनसील घडीमा कालो बजारी एबं कृत्रिम अभाव सिर्जना नगर्न तथा व्यवसायीक धर्म निभाउन अध्यक्ष लयालुले व्यवसायीलाई सचेत गराएका छन् ।

बाणिज्य संघले संकटको यो घडीमा आवश्यकभन्दा बढि सामग्री खरिद गरेर बजारमा अत्याबश्यक बस्तुको अभाव सिर्जना नगराउन र मितव्यायीता अपनाउन आग्रह गरेको छ । ‘यसबेला सबैलाई उपभोग्य सामानको उत्तिकै अभाव र आवश्यकता छ,’ लयालुले भने, ‘त्यही भएर आफुलाई चाहिँदोभन्दा बढि सामान नकिन्न हाम्रो बिनम्र आग्रह छ ।’ व्यवसायी र उपभोक्ता मिलेर भारतीय नाकाबन्दीको सामना गर्नुपर्ने अवस्था आएको बाणिज्य संघले जनाएको छ ।