खोटाङ, असोज–१९, खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटस्थित दुधकोसीमा अस्थायी बेलिब्रीज राख्न श्रमदान जुटेको छ । खोटाङलाई तराई र राजधानीसँग जोड्ने एक मात्र नाकाकारुपमा रहेको जयरामघाटमा अस्थायी बेलिब्रिज सञ्चालनमा ल्याउनकालागि मंगलबार श्रमदान जुटाइएको हो ।

१५ दिनभित्र सञ्चालनमा ल्याउनेगरी राख्न लागिएको बेलिब्रिजकालागि मंगलबार खोटाङका सभाषद पाँचकर्ण राई, प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटा, डिएसपी बिद्यान्द माझी, यातायात व्यवसायी, बाणिज्य संघका पदाधिकारीको टोलीले श्रमदान गरेका हुन् । उनीहरुले नेपाल सरकारको सडक विभाग अन्तरगत हर्कपुर–ओखलढुङ्गा सडक डिभिजन मातहतको बेलिब्रिजको पूरानो जग भत्काएर नयाँ जग बनाउने काममा श्रमदान गरेका छन् । नदीमा पानीको बहाव बढेसँगै गत जेठ अन्तिम साता झिकिएको बेलिब्रिज मंगलबारबाट जडान सुरु गरिएको हो । चाँडो बेलिब्रिज सञ्चालनमा ल्याउनकालागि उत्साह स्वरुप श्रमदान गरिएको सभाषद राईले बताए ।

हिउँदभर सञ्चालन हुनेगरी जडान गरिएको अस्थायी बेलिब्रीज वर्षा लागेपछि र नदीमा पानीको बहाव बढेसँगै झिकिने र पानीको बहाव घटेपछि पुनः राख्ने गरिएको छ । जयराममा निर्माणाधिन मोटरेबल पुल ठेकेदारको लापर्वाहीले तोकिएको समयमा सम्पन्न हुन नसक्दा हरेक हिउँद याम अस्थायी बेलिब्रिज राख्ने गरिएको छ ।