खोटाङ, असोज–२०, यात्रुको सहायताकालागि खोटाङको जयराममा ‘नागरिक हेल्प डेस्क’ स्थापना गरिएको छ । दशैं, तिहार र छठ पर्व मनाउनेक्रममा ओहोर–दोहोर गर्ने यात्रुमाथि आइपर्ने अप्ठ्यारोमा सहयोगकालागि मंगलबार जयराममा हेल्प डेस्क स्थापना गरिएको हो ।

खोटाङ यातायात व्यवसायी संघको पहलमा स्थापना गरिएको हेल्प डेस्क सभाषद पाँचकर्ण राईले उदघाटन गरेका हुन् । बढि भाडा उठाउने, तोकिएको समयमा गाडी नहिडाउने लगायतका समस्यामा परेका यात्रुको सहयोगकालागि हेल्प डेस्क सञ्चालनमा ल्याइएको यातायात व्यवसायी संघले जनाएको छ । हेल्प डेस्क स्थापनाको अवशरमा जयराममा यातायात व्यवसायी, चालक र सह–चालकलाई ट्राफिक नियमका बिषयमा प्रशिक्षण दिइएको छ । उनीहरुलाई प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटा र डिएसपी बिद्यानन्द माझीले प्रशिक्षण दिएका छन् ।

यसैबीच, खोटाङको महुरेमा सवारी साधन तथा यात्रुको बिश्रामकालागि ‘रिफ्रेस सेन्टर’ स्थापना गरिएको छ । जयराम–दिक्तेल यात्राकाक्रममा सवारी साधन, चालक तथा यात्रुको बिश्रामकालागि नुनथलामा ‘रिफ्रेस सेन्टर’ राखिएको हो । ओहोर–दोहोरकाक्रममा नुनथलामा अनिवार्य १५ देखि २५ मिनेट बिसाउने व्यवस्था मिलाइएको छ । बसबाट ओर्लेर आराम गर्ने, हातमुख धुने, हातमुख धुने, दिसापिसाब गर्ने, सवारी साधनको मेसिनलाई बिश्राम दिने व्यवस्थाकालागि ‘रिफ्रेस सेन्टर’ स्थापना गरिएको यातायात व्यवसायी संघका अध्यक्ष गणेशबिक्रम शाहीले जनाए ।

सभाषद राई, प्रमुख जिल्ला अधिकारी सापकोटा, डिएसपी माझी लगायतको टोलीले जयराममा निर्माणाधिन पक्की पुलको निरिक्षण गरेको छ ।