खोटाङ, असोज २४, सातौँ राष्ट्रिय खेलकुद प्रतियोगीतामा पठाउने खेलाडी छनौटकालागि खोटाङमा बिभिन्न उपसमिति गठन गरिएको छ । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगीतामा पठाउनयोग्य खेलाडी छनौटकालागि जिल्ला खेलकुद बिकास समितिले सहयोगी उपसमितिहरु गठन गरेको हो । बिभिन्न खेल बिद्याका छनौट प्रतियोगीता सञ्चालन, आर्थिक व्यवस्थापन, मञ्च व्यवस्थापन लगायतका कामकालागि उपसमितिहरु निर्माण गरिएको जिल्ला छनौट मूल आयोजक कमिटिका संयोजक एबं जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष माईतीराज राईले बताए । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगीताकालागि जिल्लामा असोज–२५ गतेदेखि छनौट प्रतियोगीता सञ्चालन हुँदैछ । 

भलिबलतर्फको छनौट प्रतियोगीता असोज–२५ गतेदेखि दिक्तेलस्थित माटिकोरे खेल मैदानमा, फुटबल र एथ्लेटिक्सतर्फको छनौट प्रतियोगीता असोज–२६ गतेदेखि माटिकोरे खेलमैदानमा, टेबलटेनिसतर्फको प्रतियोगीता असोज–२६ गते नुनथलामा सञ्चालन गरिने मूल आयोजक कमिटिले जनाएको छ । यस्तै, ब्याडमिन्टनको छनौट प्रतियोगीता असोज–२६ गते माटिकोरे कबर्डहलमा, चेस छनौट प्रतियोगीता असोज–२६ गते कबर्डहलमा, तेक्वान्दोको छनौट खेल बाक्सिलामा असोज–२७ गतेदेखि र सितोरियोतर्फको छनौट खेल असोज–२८ गतेदेखि माटिकोरे खेलमैदानमा सञ्चालन गरिने अध्यक्ष राईले जानकारी दिनुभयो । 

छनौट प्रतियोगीताका लागि जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राईको संयोजकत्वमा आर्थिक, सितोरियो प्रशिक्षक गोपाल राईको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति बनाइएको छ । जिल्लाको छनौट प्रतियोगीताबाट छानिएका खेलाडीहरुले आगामी कार्तिक–११ देखि १७ गतेसम्म सञ्चालन हुने क्षेत्रीय स्तरको छनौट प्रतियोगीतामा भाग लिन पाउने खेलकुद बिकास समितिले जनाएको छ ।