खोटाङ, असोज–२५, पाङ्ग्रा पम्चर भएपछि सिम्रिक एयरको जहाज खोटाङको मनमायाँ राई खानीडाँडा विमानस्थलमा रोकिएको छ । काठमाडौंबाट सोमबार दिउँसो १ बजे आएको सिम्रिक एयरको जहाज अवतरण गर्नेक्रममा पछाडिको दुबैवटा पाङ्ग्रा पम्चर भएपछि खानीडाँडा विमानस्थमै रोकिएको हो ।

जहाज फर्कन नपाएपछि हेलीकोप्टरमा काठमाडौंबाट पाङ्ग्रा ल्याएर पुनःमर्मत गरिएपनि समय अभावमा सोमबार जहाज काठमाडौं फर्कन नपाएको स्टेशन मेनेजर ध्रेव श्रेष्ठले जानकारी दिनुभयो । खानीडाँडामा अवतरण भएको नेपाल एयरलाइन्सको जहाजको ढोका नलागेपछि पुनःमर्मत गरेर पठाइएको केही दिनपछि सिम्रिकको जहाजको पाङ्ग्रा पम्चर भएको हो ।

टायर पम्चर भएपछि केही समय दायाँ–बायाँ मोडिन खोजेको जहाज पुन नियन्त्रणमा आएको प्रत्यक्षदर्शी एवम् विमानस्थल सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक गुणराज कट्वालले बताउनुभयो । “जहाज गुडेर अवतरण गर्नेक्रममा टायर पम्चर भएको हो ।” कटवालले भन्नुभयो “पम्चर भएपछि मोडिन खोजेको थियो तर, कन्ट्रोलमा आउन सफल भयो ।”

जहाजको सुरक्षार्थ प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले जानकारी दिनुभयो । दिउँसो आएको जहाज रोकिएपछि कार्यालयबाट सुरक्षाकर्मीको टोली खटाइएको माझीले बताउनुभयो । 

यसअघि नेपाल एयरलाईन्सको जहाजको ढोका बिग्रिएपछि मर्मत गरेर काठमाडौं फर्काइएको थियो । लामीडाँडा, थामखर्क सहित तीन वटा विमानस्थलहरुमध्ये दूरीका हिसाबले सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक पर्दछ ।

खानीडाँडा विमानस्थल कालोपत्रे गरेको चार महिना नपुग्दै उक्किन थालेको स्थानीय गुनासो छ । विमानस्थल कालोपत्रेको काम गुणस्तरहिन भएको गुनासोपछि ठेकेदार तथा आयोजना प्रमुखले पनःमर्मत गर्ने बताएका छन् ।

पाङ्ग्रा पम्चर भएपछि खोटाङको मनमायाँ राई खानीडाँडा विमानस्थलमा रोकिएको सिम्रिक एयरको जहाज ।