खोटाङ, असोज । जिल्लाको उत्तरी गाविस नेर्पाका किसान माछा पालन व्यवसायप्रति आकर्षित बनेका छन् । आफूले उत्पादन गरेको माछाबाट राम्रो आम्दानी हुने भएपछि उनीहरू माछा पालन व्यवसायप्रति आकर्षित भएका हुन् ।
आफूहरुले उत्पादन गरेको माछा पोखरीबाटै प्रति केजी ६०० रुपैयाँमा बिक्री हुन थालेपछि व्यवसायिक रुपमा माछा पालन सुरु गरिएको नेर्पा–६ बेसीटोलका पवन राईले बताउनुभयो । “सुरु–सुरुमा केही घरमा मात्र पालिएको थियो ।” उहाँले भन्नुभयो, “आफूले उत्पादन गरेको माछाले राम्रो आम्दानी दिन थालेपछि प्रत्येक घरले पाल्न छालेका छन् ।”
स्थानीय सरद राई, देवान राई, प्रेमबहादुर राई, देवराज रिजाल, दुर्गा पराजुली, खगेन्द्र बास्तोला लगायतले व्यवसायिक माछापालन सुरु गरेका छन् । उनीहरूले कमन, ग्रासकार्ब, मुङ्ग्री लगायतका माछा पालेका छन् ।
माछा पालनबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लाका अन्य गाविसमा पनि व्यवसायिक माछा पालन सुरु गरिएको छ । जिल्लामा माछा पालनका लागि पानीको स्रोत राम्रो भएकाले व्यवसायिकरण गर्न सम्भावना रहेको बताइएको छ ।