खोटाङ, २ कात्तिक । चाडबाडलाई लक्षित गरेर खोटाङमा उच्च सुरक्षा व्यवस्था मिलाइएको छ । जिल्लामा हुन सक्ने लुटपाट, चोरीडकैती, झैझगडा, तासजुवा, जाँडरक्सी लगायत नियन्त्रण गर्ने उद्देश्यले उच्च सुरक्षा व्यवस्था मिलाइएको हो ।

दशैं तथा तिहारमा हुन सक्ने घटनालाई न्यूनिकरण गर्ने उद्देश्यले जिल्लामा उच्च सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद खड्काले बताउनुभयो । “जिल्लाको मुख्य नाका, वित्तीय संस्था, हाटबजार तथा कार्यालयमा उच्च सुरक्षा व्यवस्था मिलाइएको छ ।” उहाँले भन्नुभयो, “यसका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष गस्ती टोली परिचालन गरिएको छ ।”

जिल्लामा हुन सक्ने अप्रिय घटनालाई न्यूनिकरण गर्न नियमित गस्तीका साथै विशेष टोली परिचालन गरिएको प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । “जिल्लामा तासजुवा खेल्ने ठाउँ तथा खेलाडीहरु धेरै छन् भन्ने जानकारी आएको छ ।” उहाँले भन्नुभयो, “त्यसलाई न्यूनिकरण गर्न टोलीले छापा मार्नेछ ।”

चाडबाडको अवसर पारेर सदरमुकाम दिक्तेलको विभिन्न ठाउँमा ठूलो मात्रामा तासजुवाको खेल हुने गरेको स्रोतले जानकारी दिएको छ । यसलाई नियन्त्रण गर्नमा कसैले चासो नदिएको स्रोतको दावी छ ।