खोटाङ, कात्तिक–२०, असुरक्षित गर्भपतन गराएकी खोटाङकी एक किशोरीको चार महिनापछि मृत्यु भएको छ । गत साउनमा असुरक्षित तरिकाले गर्भपतन गराएकी बुइपा–४ की १५ वर्षीया सुनिता राईको चार महिनापछि शुक्रबार दिउसो मृत्यु भएको हो ।

http://4.bp.blogspot.com/-bS0FduZOge0/VdnMV4uHduI/AAAAAAAA4oE/aTU9GB8iVb0/s1600/lalita.jpg

मङ्गलटार–९ का १९ वर्षीय दीपेन्द्र राईसँगको प्रेम सम्बन्धपछि रहेको गर्भपतन गराउनेक्रममा अधिक रक्तश्राव भएकाले सुनिताको मृत्यु भएको चिकित्सकहरुले बताएका छन् । स्थानीय निजी क्लिनिकबाट गर्भ खोल्ने औषधि खरिद गरेर सेवनगरी गर्भपतन गराएकी सुनिताको अधिक रक्तश्रावका कारण दुवै मृगौला काम नलाग्ने भएपछि मृत्यु भएको चिकित्सकको भनाइ छ ।

करिब तीन महिनाको गर्भ खोल्न दुवै जनाको सहमतीमा असुरक्षित तवरले निजी क्लिनिकबाट औषधि खरिद गरेर सेवन गरेपछि अधिक रक्तश्राव भएको र रक्तश्रावकै कारण सुनिताको मृत्यु भएको बुझिएको प्रहरीले जनाएको छ । गर्भपतनपछि गत साउन–३२ गते जिल्ला अस्पताल खोटाङमा भर्ना भएकी सुनिताको अधिक रक्तश्रावका कारण जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौं लगिएको थियो ।

काठमाडौंको शिक्षण अस्पतालमा उपचार गराएर फर्किएकी सुनिताको दीपेन्द्रसँगको प्रेम सम्बन्धलाई विवाहका लागि कानूनी रुप दिन जिल्ला प्रहरी कार्यालय खोटाङ आएको अवस्थामा सदरमुकाम दिक्तेलस्थित एक होटलमा मृत्युभएको आफन्तले जनाएको छ । सुनिताको मृत्यु भए लगत्तै उनका प्रेमी दीपेन्द्र र क्लिनिक सञ्चालक स्वास्थ्यचौक हलेसीका अहेव गइन्द्रकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनिताको मृत्यु भएसँगै उनका प्रेमी र क्लिनिक सञ्चालकलाई पक्राउ गरी कारबाहीका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । “तिनीहरु सबैले कानूनविपरित काम गरेका हुन् ।” उहाँले भन्नुभयो, “मर्ने त मरी गइ, बाँच्नेलाई कारबाही हुन्छ ।”

असुरक्षित गर्भपतन गराएकी सुनिताको अधिक रक्तश्रोव भएपछि सोही समयमा प्रेमी दीपेन्द्रलाई प्रहरीले पक्राउ गरी उपचार खर्च ब्यहोर्नुका साथै विवाह गर्ने बताएपछि छाडी दिएको थियो । दीपेन्द्रले सुनिताको उपचारमा लाग्ने सम्पूर्ण खर्च ब्यहोर्नुका साथै सँगै बसेर हेरचाह समेत गरेका स्थानीयले बताएका छन् ।

मृतक सुनिताको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङमा राखिएको छ । रक्तश्रावका कारण दुवै मृगौला निष्किृय बनेको सुनिता सुन्निएको अवस्थामा दिक्तेल आएकी थिइन् ।