खोटाङ, कार्तिक २३ । ‘अर्की झमककुमारी’को नामले चिनिएकी खोटाङको इन्द्रेणीपोखरी–३ की १६ वर्षीय अपांग सम्झना राईलाई ४ लाख ६९ हजार आर्थिक सहयोग प्राप्त भएको छ ।
खोटाङ सेवा समाज यूकेले दुबै हात नभएकी किशोरी राईलाई सोमबार आर्थिक सहयोग प्रदान गरेको हो । इन्द्रेणीपोखरी–३ कात्तिकेस्थित राष्ट्रिय प्राबिमा आयोजित कार्यक्रममा सांसद बिशाल भट्टराईले सम्झनालाई सहयोग रकम हस्तान्तरण गरेका छन् । 
शारीरिक रुपमा अपांगता भएकी सम्झनाको उच्च शिक्षा अध्ययन एबं सहज जीवनयापनकालागि सहयोग रकम प्रदान गरिएको खोटाङ सेवा समाज यूकेका कोषाध्यक्ष प्रसाद राईले बताए । जन्मजात हात नभए पनि खुट्टाको साहरामा लेखपढ र घरायसी काम गर्न सक्ने क्षमता भएकी सम्झना भगवती उच्च माबि खोटाङबजारमा कक्षा ८ मा अध्यायनरत छिन् । 
समाजले सम्झनाको उमेर १८ वर्षको हुँदासम्म व्याज मात्र झिक्न मिल्ने र त्यसपछि साँवा रकम निकाल्न पाउनेगरी चेक प्रदान गरेको छ । रोजगारीका सिलसिलामा बेलायतमा बसोबास गरिरहेका खोटाङ्गेबाट रकम संकलन गरेर सम्झना र आमा सुमिता राईको नाममा रकम जम्मा गरिएको कोषाध्यक्ष राईले जनाए ।