खोटाङ, कार्तिक । तिहारलाई शान्तिपूर्ण बनाउन खोटाङ प्रहरीले सुरक्षा सक्रियता बढाएको छ । तिहारको समयमा हुने सम्भाबित अपराध एबं दुर्घट्नालाई मध्यनजर गर्दै प्रहरीले ‘विषेश सुरक्षा योजना’ तयार पारेर उच्चसुरक्षा सतर्कता अपनाएको हो ।
तिहारका समयमा हुने सम्भावित झै–झगडा, अशान्ति तथा अप्रिय घट्ना न्यूनीकरणका लागि उच्चसुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक बिद्यानन्द माझीले बताए । प्रहरीले जिल्लाभर रातको दश बजेसम्म मात्र देउसीभैली खेल्न, तिहारको नाममा मादक पदार्थको प्रयोग नगर्न, जुवातास, लंगुरबुर्जा नखेलाउन, हो–हल्ला नगर्न, आकाशबादी र पट्का नपड्काउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
शान्तिपूर्ण तरिकाले तिहार मनाउने वाताबरण बनाउनकालागि जिल्ला प्रहरी कार्यालयले सामुदायीक सेवा केन्द्र र ट्राफिक प्रहरीसँगको सहकार्यमा सुरक्षा सक्रियता बढाएको हो । चाडबाडको समयमा अत्यधिक प्रयोग गरिने जाँडरक्सीका कारण झै–झगडा हुने भएकाले ‘तिहारलाई मादक पदार्थरहित’ बनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ । यस्तै, तिहारकाबेलामा गुण्डागर्दी, चोरी, डकैती हुनसक्नेतर्फ बिशेष सचेतता अपनाइएको प्रहरी नायब उपरिक्षक माझीले जनाए । ‘यसकै लागि हामीले सदरमुकाम र सो आसपासमा दुई दिनअघिदेखि माइकिङ गरिरहेका छौँ,’ माझीले भने, ‘मातहतका प्रहरी निकायहरुलाई पनि निर्देशन दिइसकेका छौँ ।’