खोटाङ, मंसिर ३ । खोटाङको बुईपास्थित छिप्ती सेवा समाजलाई पुर्व यूके लाहुरे भीम राईले आर्थिक सहयोग गरेका छन् ।
छिप्ती गाउँको शैक्षिक, भौतिक, स्वास्थ्य, कृषि क्षेत्रको बिकासकालागि बुईपा–३ छिप्ती स्थायी ठेगाना भएका पुर्वयूके लाहुरे राईले समाजलाई ५१ हजार पाँच सय आर्थिक सहयोग गरेका हुन् । परिवारसहित हाल बेलायत बसोबास गरिरहेका राईले गाउँ आएकोबेला तिहारको अवशर पारेर छिप्ती सेवा समाजलाई आर्थिक सहयोग गरेका हुन् ।
 बेलायती सेनाबाट रिटायर्ड भएपछि समाज सेवामा क्रियासिल रहेका राईले छिप्तीको आत्मनिर्भरताकालागि थालिएको अभियानको सफलताकालागि आर्थिक सहयोग गरेको बताए । छिप्ती घर भइ रोजगारीका सिलसिलामा बिभिन्न देशमा पुगेका स्थानीयबाट सहयोग संकलन गरेर छिप्तीकै बिकास र परिवर्तनकालागि उपयोग गर्ने अभियान अन्तरगत भीमले आर्थिक सहयोग गरेको समाजका अध्यक्ष देबबिक्रम राईले बताए । 
अभियान सफल बनाउनकालागि आवश्यक रकम जुटाउन बेलायत, हङकङ, मलेसिया, साउदीअरब, कतार, कुबेत, बहराईन लगायतका देशमा पुगेका छिप्तीबासीबाट रकम संकलन सुरु गरिएको छ । छिप्ती सेवा समाजलाई बिदेशमा बसिरहेका छिप्तीबासीबाट मौखिकरुपमा १५ लाखको हाराहारीमा आर्थिक सहयोग गर्ने बचन प्राप्त भएपनि भीम रकम प्रदान गर्ने पहिलो दाता हुन् । सहयोगीबाट जुटेको रकमलाई आफ्नै ठाउँमा श्रम गर्ने वाताबरण तयार पारेर स्थानीय युवालाई बिदेश जानबाट रोक्ने र आत्मनिर्भर बनाउने उद्धेश्य राखिएको समाजले जनाएको छ । 
राईले छिप्तीस्थित सहयोगी प्राबिमा ल्यापटप तथा अंग्रेजी भाषाबाट शिक्षणको व्यवस्थाकालागि सहयोग गर्ने जानकारी दिए । उनले यसअघि बुईपास्थित सहयोगी प्राबिको भौतिक बिकासकालागि ५० हजार, चम्पावती उच्च माबिमा भीम राई पुस्तकालय स्थापनार्थ ५० हजार तथा बुईपाकै राजाबासमा निर्माण गरिएको खेलमैदानकालागि ५० हजार आर्थिक सहयोग गरिसकेका छन् । ‘हामी एक्लो धनी भएर मात्र हुँदैन,’ ३१ वर्षदेखि बेलायत बस्दैआएका राईले भने, ‘सिंगो समाजलाई धनी बनाउन पनि सहयोग गर्न अग्रसर हुनुपर्छ ।’