काठमाडौं । शिक्षण पेशा त्यागेर सांगितिक क्षेत्रमा प्रवेश गरेकी खोटाङकी मनिता राई चाम्लिङ निरन्तर सांगितिक यात्रामा पाइला चालिरहेकी छिन् ।

विगत दुई वर्ष यता शास्त्रीय संगीत समेत लिईरहेकी मनिता यति बेला एकल एल्बमको तयारीमा जुटेकी छिन् ।

उनकाे नयाँ एल्बममा तारा प्रकाश लिम्बुको संगीत, सुनिल दिप्त राईको शब्द रचना रहने छ भने उक्त गीति एल्बममा ७ वटा गीत समावेश हुने उनले बताएकी छिन् । जसमा एकल शब्द रचना सुनिल दिप्त राईको रहने छ भने संगीत तारा प्रकाश लिम्बु, हरी लम्साल, बसन्त सापकोटा, डीड्डआर अटु पुष्कर सुनुवारको रहने छ ।

एक वर्ष अगाडी पहिलो गिति गजल ‘नजर के जुधेको थियो’ हरी लम्सालको संगीत, सुनिल दिप्त राईको शब्द रचनाबाट सांगीतिक आकाशमा उदाएकी उनी दोस्रो गीत ‘सिरूपाते खुकुरीको लाहा छ कि छैन’ ले सांगीतिक क्षेत्रमा छुट्टै परिचयका साथ उदाएकी थिइन् ।

एल्बम ‘सिरूपाते खुकुरी’ को तयारीमा रहेकी गायिका मृदुभाषी सबै संग भिज्न सक्ने स्वभावकी छिन् ।

भर्खरै सार्वजनिक भएको गजल पर्दैन तारा खसाउनुलाई दर्शक श्रोताहरूले रूचाई रहेको बेला अर्को गीत आँशु रैछ जिन्दगी यो संधै रूनु पर्ने उनले रेकर्ड गरेकी थिइन् ।

करिब ९ बर्ष अगाडी रेकर्ड भएको गीत आँशु रैछमा रजिना रिमाल र नेपाली तारा सन्तोष लामाले स्वर दिएका थिए । कलेक्सन एल्बममा रहेको उक्त गीत यस पाली भने मनिता राईले आफ्नो एल्बममा समावेश गर्ने भएकी हुन।