खोटाङ, १४ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी खोटाङका सबै पदाधिकारी नेकपा मालेमा प्रवेश गरेका छन् । नेकपाको सिद्धान्तप्रति असहमती जनाउँदै पोलिटब्यूरो सदस्य एवम् पूर्वसांसद कुलप्रसाद शर्मा सहित सिङ्गो जिल्ला कमिटिका नेता तथा कार्यकर्ता मालेमा प्रवेश गरेका हुन् ।

बिज्ञप्ती जारी गर्दै पूर्वसांसद शर्मा, केन्द्रीय सदस्य राजकुमार खत्री, केन्द्रीय श्याम राई, केन्द्रीय सल्लाहार देवेन्द्र श्रेष्ठ लगायत जिल्ला कमिटीका सबै पदाधिकारीले मालेमा प्रवेश गरेको घोषणा गरेका छन् । पहिलाको मतभेद किनारामा लागेकाले बिचार मिल्नेसँग एकता गरिएको नेकपाका तत्कालीन केन्द्रीय सदस्य श्याम राईले बताउनुभयो ।

दुई पार्टीको एकतासँगै नेकपाबाट मालेमा आवद्ध बनेका मीनप्रसाद आचार्यको संयोजकत्वमा ३४ सदस्यीय नेकपा मालेको नयाँ जिल्ला कमिटि गठन गरिएको छ । जिल्लामा मालेको नेतृत्व सम्हाल्दै आएका बयन्द्र केसीलाई सहसंयोजकको जिम्मेवारी दिइएको पार्टीले जनाएको छ ।

यसअघि नेकपा जिल्ला कमिटीका दुई सदस्य एमालेमा प्रवेश गरिसकेका छन् ।