खोटाङ, मङ्सिर–१७, राजधानी काठमाडौं लगायत तराईका जिल्लासँग सिधा यातायात सेवा सुरु भएपछि खोटाङमा गाडी भाडा घटाइएको छ । जयरामघाटमा जडान गरिएको अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै सिधा यातायात सेवा सुरु भएपछि लामो दूरीका सवारी साधनको भाडा घटाइएको हो ।

जिल्लावासीलाई थोरै भएपनि राहत दिलाउने उद्देश्यले दिक्तेल–काठमाडौं, दिक्तेल–कटारी लगायत लामो दूरीमा सञ्चालन हुने सवारी साधनको भाडा घटाइएको यातायात व्यवसायी संघ खोटाङका महासचिव राजकुमार राईले बताउनुभयो । राईका अनुसार अब दिक्तेलबाट काठमाडौं जानका लागि एक हजार ५०० रुपैयाँ भाडा लाग्नेछ ।

यसअघि एक हजार ६०० लिने गरिएकोमा १०० रुपैयाँ घटाएर अहिले एक हजार ५०० लिन सुरु गरिएको यातायात व्यवसायी संघले जनाएको छ । यस्तै, दिक्तेलबाट कटारी जानका लागि एक हजार रुपैयाँ लाग्ने जनाइएको छ । यसअघि दिक्तेलबाट कटारीसम्म पुग्नका लागि एक हजार १२५ लिने गरिएको थियो ।

जिल्लाबाट काठमाडौंका लागि बिहान, दिउसो र बेलुकागरि दैनिक तीनवटा गाडी छुट्ने गरेको छ । प्रत्येक गाडीमा पहिलेको तुलनामा तीन हजार ४०० रुपैयाँ भाडा घटाइएको महासचिव राईले जानकारी दिनुभयो ।

जिल्लामा खोटाङ यातायात व्यवसायी संघको ३४ वटा बस र नौं वटा जिप सञ्चालनमा छ । जिल्लाका अन्य ठाउँमा सञ्चालन हुने सवारी साधनको समेत भाडा घटाउने तयारी गरिएको महासचिव राईले बताउनुभयो ।