खोटाङ, मङ्सिर–१७, जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐसेलुखर्कमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ । रावापारीको क्षेत्रलाई समेटेर सेवा प्रवाह गर्ने उद्देश्यले ऐसेलुखर्कमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने तयारी गरिएको हो ।

ऐसेलुखर्कबजारमा स्थापना गर्न लागिएको इलाका प्रशासनको लागि मन्त्रालयबाट दरबन्दीसमेत स्वीकृत भइसकेको खोटाङ क्षेत्र नं. १ बाट निर्वाचित सांसद पाँचकर्ण राई (पिके)ले बताउनुभयो । “इलाका प्रशासन कार्यालयका लागि एक जना अधिकृतसहित छ जनाको दरबन्दी स्वीकृत भइसकेको छ ।” उहाँले भन्नुभयो, “इलाका प्रशासन कार्यालय खुलेपछि रावाखोलापारीका १६ गाविसवासीलाई प्रशासनिक काममा सहज हुनेछ ।”

केही दिनपछि कार्यालय उद्घाटन गरेर सेवा प्रवाह सुरु गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद खड्काले बताउनुभयो । “उत्तरी क्षेत्रमा इलाका प्रशासन कार्यालय नहुँदा जिल्ला प्रशासनमा ठूलो चाप हुने गरेको छ ।” उहाँले भन्नुभयो, “ऐसेलुखर्कमा इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि सहज हुने अपेक्षा गरिएको छ ।”

आफ्नै क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएपछि त्यस क्षेत्रमा पर्ने १६ गाविसका स्थानीयवासी हर्षित भएका छन् । नागरिकता लगायत प्रशासनिक कामका लागि दुई दिन लगाएर सदरमुकाम दिक्तेल धाउनुपर्ने समस्या हल हुने भएपछि स्थानीयवासी हर्षित भएका हुन् ।