खोटाङ, भदौ २२– खोटाङमा विभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिबस मनाइएको छ । बृक्षारोपण, कर्मचारीबीचमा हाजिरीजवाफ प्रतियोगीता, प्रभातफेरी लगायतका कार्यक्रम गर्दै जिल्लामा १५ औं निजामती सेवा दिबस मनाइएको हो । ‘नतिजामुखी प्रशासन, संबृद्धि र सुशासन’ भन्ने नारा सहित मनाउन थालिएको दिवस शुक्रबार समापन गरिएको छ । दिवसको अन्तिम दिन प्रभातफेरी निकाल्नुका साथै हाजिरीजवाफ प्रतियोगीताका बिजेतालाई पुरस्कार प्रदान गरिएको छ । 
निजामती कर्मचारीबीचमा गरिएको हाजिरी जवाफ प्रतियोगीतामा प्रथम भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी निर्मला पोखरेल र निर्मला चौंलागाई, दोश्रो भएका जिल्ला प्रशासन कार्यालयका सिताराम आचार्य र दिनेश दाहाल तथा तेश्रो भएका हुलाक कार्यालयका सुमन बास्तोला र बिसन राईलाई क्रमशः नगद ४ हजार ३ हजार र २ हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको छ । बिजेतालाई जिल्ला न्यायधिस किशोर घिमिरे र प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले पुरस्कार प्रदान गरे । 
यस वर्षभित्र अवकाश पाउने मालपोत कार्यालयका नासु कृष्ण बस्नेत, सिँचाई कार्यालयका ऋषि रिजाल, बन रक्षक हर्कराज राई लगायतका कर्मचारीलाई दिबसको अवशर पारेर बिदाई गरिएको छ । २०६२ साल भदौ २२ गतेबाट नेपालमा निजामती सेवा दिबस मनाउन थालिएको हो ।
 २०१३ साल भखौ २२ गते तत्कालिन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती सेवा दिबस मनाउन थालिएको हो । कार्यक्रममा जिल्ला न्यायधिस घिमिरे, प्रमुख जिल्ला अधिकारी पौडेल, आधिकारिक ट्रेड युनियनका अध्यक्ष ध्रुब कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष दमन राई लगायतले शुभकामना मन्तव्य दिएका थिए ।