खोटाङ, ४ पुस । दिक्तेलका आगलागीपीडितका लागि नेपाली कांग्रेस खोटाङले संकलन गरेको राहत रकम पीडित परिवारलाई प्रदान गरिएको छ । कांग्रेसले सदरमुकाम दिक्तेलमा शुक्रबार बिहान संकलन गरेको एक लाख ८१ हजार २१७ रुपैयाँ राहत रकम पीडित परिवारलाई प्रदान गरिएको हो ।
आगलागीबाट विस्थापित बनेका दिक्तेल नगरपालिका–२ का हिरालाल पुरी र केशव दाहाललाई जनही ४५/४५ हजार, मोवाईल पसल सञ्चालक आशिष थापालाई २५ हजार, भाडामा बस्ने दलबहादुर थापा र बमबहादुर रायालाई जनही १५/१५ हजार, ब्युटी पार्लर सञ्चालक जुनुकला राई र टेलरिङ सेन्टर सञ्चालक कुमार सुन्दासलाई दश/दश हजार, घरमा आंशिक क्षति भएका दानबहादुर मगरलाई ११ हजार २१७ र शैलुन सञ्चालक सन्तोष ठाकुरलाई पाँच हजार रुपैयाँ प्रदान गरिएको राहत संकलन अभियानमा सहभागी कांग्रेस खोटाङका महासमिति सदस्य रविप्रकाश राईले बताउनुभयो । आगलागीबाट सबैथोक गुमाएका परिवारको गाँस, बास र आवासको व्यवस्थाका लागि पार्टीको तर्फबाट राहत रकम संकलन गरेर पीडित परिवारलाई प्रदान गरिएको राईको भनाइ छ । 
यसअघि शुक्रबार उद्योग वाणिज्य संघ खोटाङले आगलागी पीडित पुरीलाई नगद एक लाख १०१ रुपैयाँ र मोवाईल पसल सञ्चालक थापालाई पाँच हजार पाँच रुपैयाँ प्रदान गरेको थियो । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङले सबै आगलागीपीडित परिवारलाई दुई÷दुई थान कम्बल र त्रिपाल प्रदान गरेको छ ।  
बिहिबार दिउँसो भएको आगलागीमा हिरालाल पुरी, केशव दाहाल, रविध्वज राई, दानबहादुर मगर र हर्कबहादुर राईको घर ध्वस्त बनेको छ । आगलागीमा परी एउटा कपडा पसल, तीनवटा मोवाईल पसल, एउटा ब्यूटी पार्लर, एउटा शैलुन, दुईवटा होटल र एकवटा टेलरिङ सेन्टर जलेको थियो ।