खोटाङ, ४ पुस । जिल्लामा गत वर्षको तुलनामा यस वर्ष अलैंची उत्पादनमा ६ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष ४५६ मेट्रिक्टन अलैंची उत्पादन भएको जिल्लामा यस वर्ष छ प्रतिशतले वृद्धि भएर ४८५ मेट्रिक्टन पुगेको हो ।
गत वर्ष ८० करोडको अलैंची बिक्री गरिएको जिल्लामा यस वर्ष एक अरब बढी जिल्ला भित्रन सक्ने अनुमान गरिएको छ । कुनैकुनै ठाँउमा टिप्ने काम अझै बाँकी रहेकाले परिणाम वृद्धि हुने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालय खोटाङका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद घिमिरेले हाम्रोखोटाङ डटकमलाई जानकारी दिनुभयो ।
गत वर्ष प्रति हेक्टर ०.५० मनको दरले अलैंची उत्पादन भएकोमा यस वर्ष प्रति हेक्टर ०.५३ मनको दरले उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गत वर्ष प्रतिमन ८० हजारका दरले बिक्री हुँदा ८० करोडको निकासी भएको थियो भने, यस वर्ष प्रतिमन ९५ हजारका दरले बिक्री भइरहेको जनाइएको छ ।
जिल्लामा उत्पादित अलैंचीले अहिलेसम्मकै बढी मुल्य पाएको कृषकहरुले बताएका छन् । जिल्लामा उत्पादित अलैंची यस वर्ष भारतको अघोषित नाकाबन्दीका कारण गत वर्ष जस्तो छिटो बिक्री भने भएको छैन ।
खेर गइरहेको भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा उत्पादन हुने अलैंची हाल जिल्लाको ९१५ हेक्टरमा खेती गरिएको छ । जिल्लाका ३४ भन्दा बढी गाविसमा उत्पादन हुने अलंैची भोजपुर, धनकुटा, धरान र झापाको बिर्तामोड हुँदै भारत निकासी हुने गरेको छ ।