खोटाङ, पुस ५– भारतीय नाकाबन्दीका कारण खोटाङका नोबेल ग्याँसका उपभोक्ता सबैभन्दा बढि मारमा परेका छन् । बीरगञ्ज हुँदै नेपाल भित्रिने गरेको नोबेल ग्याँसका बुलेट भित्रन नपाउँदा जिल्लाका उपभोक्ता मारमा परेका हुन् । जिल्लामा रिजालको ग्याँस बेला–बेलामा आएपनि चार महिना अघिदेखि नोबेल ग्याँस आउन सकेको छैन । बीरगञ्ज नाका नखुल्दा यी चार वटै जिल्लाका उपभोक्ताले नोबेलका सिलिण्डर साट्न पाएका छैनन् । 
एक कम्पनीद्धारा उत्पादित ग्याँसको खाली सिलीण्डर अर्को कम्पनीले नसाट्ने भएकाले नोबेलका उपभोक्ता बढि मारमा परेको हुन् । ‘आक्कलझुक्कल’ भित्रिएका नोबेल ग्याँस राजधानी र पुर्वी शहरमा पठाइने गरेका कारण पनि जिल्लामा ग्याँस आउन नसकेको उपभोक्ताको गुनासो छ । 
खोटाङमा नोबेलका उपभोक्ता दुई हजार देखि २५ सयको हाराहारीमा रहेको खोटाङ उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुले बताए । दिक्तेलमा नोबेलका डिलर नभएका कारण पनि ग्याँस ल्याउन असहज भएको हो । उदयपुरको कटारीमा रहेको आधिकारिक डिलर राधेश्याम डिलरले ग्याँस पठाउन चासो नदेखाएको स्थानीयको गुनासो छ । नोबेलका उद्योगीले बीरगञ्जबाहेक अन्य ट्रान्जिट मिलाउन नसकेका कारण यसका उपभोक्ताले बढि मार खेप्नु परेको संघका अध्यक्ष लयालु बताउँछन् ।