खोटाङ, पुस–१५, नेपालको राष्ट्रिय झण्डा चिनाउन अधिराज्यव्यापी भ्रमणमा निस्कनुभएका काठ्माण्डौं महानगरपालिका–१३ कालीमाटी भिममुक्तेश्वरका लक्ष्मीनारायण श्रेष्ठ खोटाङ आइपुग्नु भएको छ । राष्ट्रिय झण्डाको प्रचारमा गत मंसिर–१ गतेदेखि भ्रमणमा निस्कनु भएका ५९ वर्षीय शिल्पकार मंगलबार दिक्तेल आइपुग्नु भएको हो ।

ताप्लेजुङबाट यात्रा सुरु गर्नुभएका शिल्पकारले पाँचथर, ईलाम, झापा, संखुवासभा, भोजपुर, ते¥हथुम, धनकुटा, सुनसरी, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु हुँदै दिक्तेल आइपुगेको बताउनुभयो । खोटाङ शिल्पकारले भ्रमण गरेको १८ औं जिल्ला हो ।

बिगत ७ वर्षदेखि बेलाबेलामा काठ्माण्डौं बशन्तपुर डबलीमा राष्ट्रिय झण्डा फहराउँदै आएका शिल्पकारले ४ वर्षदेखि निरन्तर झण्डा फहराउँदै आउनु भएको थियो । राष्ट्रिय झण्डा नचिन्ने नेपाली प्रशस्त भेटिएपछि उनले चार वर्षसम्म निरन्तर बशन्तपुरमा झण्डा फहराउने काम गरेको उल्लेख गर्नुभयो । त्यसक्रममा कतिपय शिक्षीत र बुद्धिजिबीले समेत झण्डा नचिनेपछि झण्डा चिनाउनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै भ्रमणमा निस्किएको उहाँले बताउनुभयो । प्रायः सबै नेपालीलाई राष्ट्रिय झण्डा चिनाउनुपर्ने आवश्यकता रहेको शिल्पकारको भनाई छ । कतिपयले राष्ट्रिय झण्डालाई कुन पार्टीको वा धर्मको भनेर सोध्ने गरेको बताउनुभयो ।

यही वर्षभित्र नेपालका ७५ वटै जिल्लामा झण्डा फहराउने उहाँले जानकारी दिनुभयो । दुई छोरा, एक बुहारी र एक छोरीका बुबा शिल्पकारलाई परिवारको साथ रहेको छ ।