खोटाङ, पुस–२०, शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नेपालको संविधान संसारको संविधानको तुलनामा युगान्तकारी संविधान भएको दाबी गर्नुभएको छ । नेपालको संविधानमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता सहितको युगान्तकारी संविधान भएको दाबी गर्नुभएको हो । 

संविधानको अन्तरवस्तु, निर्माण विधि, जनताको स्वामित्व र संसारका संविधानको तुलनात्मक अध्ययनको दृष्टिले गर्व र प्रशंसणीय भएको बताउनुभयो । संविधानले हिमाल, जल, जडीबुटी, कृषिको उपयोग गरेर नेपाललाई संबृद्ध बनाउन सकिने बाटो खुलेको मन्त्री पोखरेलले बताउनुभयो ।

संविधानमा तराई–मधेशका जनताले उठाएका जायज मागलाई पनि सम्बोधन गर्न सकिने बताउनुभयो । “तराई–मधेशभित्र उठेका सबै आवाजभित्र न्यायपूर्ण आवाज छैनन् ।” मन्त्री पोखरेलले भन्नुभयो, “अधिकारको नाममा तराई–मधेशलाई नेपालबाट अलग गर्ने पृथकतावादसँग सम्झौता गर्न नकिन्न ।”

दिक्तेलस्थित स्थानीय हेलीप्याडमा आयोजना गरिएको कार्यक्रममा बोल्नुहुँदै उहाँले संविधानको विषयलाई लिएर तराई मधेशबाट बिखण्डनको दिसामा लैजाने भयनाक खेल भइरहेको पनि बताउनुभयो । “बाह्यशक्तिको आडमा तराई–मधेशलाई नेपालबाट बिखण्डन गर्ने खेल भइरहेको छ ।” उहाँले भन्नुभयो, “यसका लागि सबै मिलेर परास्त गर्नुपर्ने अवस्था आएको छ ।”

जिल्ला विकास समिति खोटाङको आयोजनामा भएको संविधान प्रचार अभियान कार्यक्रममा सांसद्हरु विशाल भट्टराई, पाँचकर्ण राई र सरस्वति वजिमय, पूर्व सभाषद् दुर्गाजयन्ती लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।