खोटाङ, पुस–२१, शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा देखिएका समस्यालाई नीतिगत रुपमै परिवर्तन गरेर छाड्ने बताउनुभएको छ । देशलाई स्वाधिन र समृद्ध बनाउने एउटै माध्यम शिक्षा भएकाले शिक्षाको विकास गर्नका लागि आफू शिक्षामन्त्री बनेको मन्त्री पोखरेलले स्पष्ट पार्नुभयो ।
खोटाङको दिक्तेलमा सोमबार बेलुका आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले नाम ईतिहासमा लेखाउनका लागि मात्र आफू शिक्षमन्त्री नबनेको बताउनुभयो । “शिक्षा क्षेत्रमा अहिले जटिल समस्या देखिएको छ ।” उहाँले भन्नुभयो, “यसलाई तल्लो तहदेखि मन्त्रालयसम्म सुधार गर्नमा म लागी परेको छु ।”
संविधान प्रचार अभियानका क्रममा खोटाङ आउनुभएका मन्त्री पोखरेलले राष्ट्र र राष्ट्रियताका लागि आत्मैदेखि लागी पर्न शिक्षा सम्वद्ध व्यक्तिहरुलाई आग्रह गर्नुभयो । “शिक्षा भनेको परिवर्तन हो ।” उहाँले भन्नुभयो, “तपाईहरु त्यही पेसा हुनुभएकाले आफ्नो पेसालाई नतिजामूलक बनाउनुहोस् ।”
एकीकृत नेकपा माओवादीका सचिवसमेत रहनुभएका मन्त्री पोखरेलले पार्टीको भातृ संस्थाका व्यक्तिका रुपमा भन्दा आफूलाई शिक्षक भनेर चिनाउन शिक्षाकहरुलाई आग्रह गर्नुभयो । “जबसम्म आफू शिक्षक हुँ भनेर भन्न सक्नुहुन्न तबसम्म शिक्षामा परिवर्तन हुँदैन ।” अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले भन्नुभयो, “आगामी दिनमा शिक्षकले पार्टी सदस्यता लिन पाउने छैनन् ।”
शिक्षा क्षेत्रको सुधारका लागि आफूले संसदमा विद्ययकसमेत पेश गरिसकेको मन्त्री पोखरेलले बताउनुभयो । आफूले पेश गरेको विद्ययकले शिक्षकहरुलाई पार्टीको सदस्य बन्न नदिने  दाबी गर्नुभयो ।
जिल्ला विकास समिति खोटाङको सभाहलमा आयोजना गरिएको शैक्षिक सुधार तथा भौतिक पुनःनिर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले अबको शिक्षा उत्पादनसँग जोड्ने किसिमको हुने स्पष्ट पार्नुभयो । अन्तरक्रिया कार्यक्रममा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बूका जिल्ला शिक्षा अधिकारी, प्राविधिक, शिक्षक संघसंगठनका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीले आआफ्नो जिल्लाको शैक्षिक तथा भौतिक अवस्था, चुनौती र भएगरेका प्रगतिका बारेमा मन्त्री पोखरेललाई जानकारी गराएका थिए । सहभागीबाट प्राप्त सुझावलाई सक्दो कार्यान्वयन गर्ने मन्त्री पोखरेलले प्रतिवद्धता जनाउनुभएको छ ।