
खोटाङ भदौ–२६, खोटाङस्थित साकेला गाउँपालिका–३ खिदिमाको लघुजलविद्युत योजना सञ्चालनमा आएपछि स्थानीयमा खुशियाली छाएको छ । स्थानीयको पहलमा खोबुखोला पिको लघुजलविद्युत आयोजनाको काम सम्पन्न भई सञ्चालमा आएपछि खिदिमावासीमा खुशियाली छाएको हो ।
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र खुमलटार ललितपुरको ५५, स्थानीयवासीको ४० र वडा कार्यालयको ५ प्रतिशत लगानीमा ९ दशमलव ५ किलोवाट क्षमताको लघुजलविद्युत सञ्चालमा आएको हो । पिको लघुजलविद्युतवाट खिदिमाको सोल्मा लामिडाँडास्थित ७० घर झिलीमिली भएको छ । विद्युतको लागि ल्याइएको पानीबाट सुधारिएको व्यवसायिक पानी घट्टा समेत सञ्चालन गरिएको छ ।
लघुजलविद्युतमार्फत चौविसै घण्टा बत्ती बाल्न, मिल तथा कम्प्युटर सञ्चालन गर्न लगायत विद्युतीय कामका लागि सहज भएको निर्माण उपभोक्ता समितिका सचिव समराज राईले जानकारी दिनुभयो ।

सुधारिएको पानी घट्टा सञ्चालनमा आएपछि छिमेकी वडाका स्थानीयवासी समेत सेवा लिन आउने गरेको समितिका सचिव राईले जानकारी दिनुभयो । जिल्लाको दक्षिणी पूर्वी क्षेत्रमा पर्ने खिदिमास्थित सोल्मा लामिडाँडामा यसअघि ढिकीजाँतो मार्फत कुटानी पिसानी गर्दै आइएको थियो ।
वातावरणीय हिसाबले राम्रो मानिएको सुधारिएको पानी घट्टा सञ्चालन भएपछि वर्षैदेखि कष्टका साथ कुटानीपिसानी गर्दै आएका महिलाहरुलाई बढी लाभान्वित भएका छन् । डिजेलबाट चल्ने मिलमा पिसानी गर्दा लाग्ने खर्चभन्दा आधा कम मुल्यमा सुधारिएको पानी घट्टामा पिसानी गर्न सकिने जनाइएको छ ।
सुधारिएको पानी घट्टा सञ्चालन भएपछि आर्थिक बचत समेत भएको स्थानीयले बताएका छन् । ( फोटो : समराज राईको फेसबुकवाट )