खोटाङ, २६ पुस । आदिवासी जनजाति विद्यार्थी महासंघ खोटाङले निःशुल्क एसएलसी तयारी कक्षा सुरु गरेको छ । एसएलसी परीक्षामा खोटाङ सबैभन्दा पछाडी परेकाले आगामी दिनमा सुधार गर्ने उद्देश्यका साथ विद्यार्थी महासंघले निःशुल्क एसएलसी तयारी कक्षा सुरु गरेको हो ।

दिक्तेलमा सञ्चालन गरिएको एसएलसी तयारी कक्षामा जिल्लाका ४० जना जनजाति छात्रछात्रा सहभागी रहेको महासंघका अध्यक्ष सर्मिला राईले जानकारी दिनुभयो । “गत वर्षको एसएलसीमा हाम्रो जिल्ला सबैभन्दा पछाडी प¥यो ।” उहाँले भन्नुभयो, “आगामी दिनमा सुधार गर्दै लैजाने उद्देश्यले अङ्ग्रेजी, गणित र विज्ञान विषयको निःशुल्क तयारी कक्षा सञ्चालन गरेका हौ ।”

जिल्लामा अधिकांश विद्यार्थीलाई अङ्ग्रेजी, गणित र विज्ञान विषय लाग्ने गरेको छ । विद्यार्थी महासंघले सञ्चालन गरेको तयारी कक्षामा प्राध्यापक केशरकुमार राई, हर्कवीर राई, रविन सुनुवार, राजमणि राई, श्यामकुमार राई, ध्यानबहादुर राई लगायतले अध्यापन गरिरहुनुभएको छ ।

एसएलसी परीक्षा नहुञ्जेलसम्म सञ्चालन हुने तयारी कक्षामा प्राध्यापकहरुले समेत निःशुल्क अध्यापन गर्नुहुने सचिव एलबी मगरले जानकारी दिनुभयो । दिक्तेलस्थित पुरानो बेसक्याम्पमा सञ्चालन भएको निःशुल्क एसएलसी तयारी कक्षा शनिरबारबाट औपचारिकरुपमा सुरु गरिएको हो ।