खोटाङ, माघ–६, खोटाङको सदरमुकाम दिक्तेलमा दुई दिने बृहत कृषि मेला एवम् कृषि प्रदर्शनी सुरु भएको छ । जिल्लाका कृषकलाई कृषि पेशाप्रति प्रोत्साहित गर्ने उद्देश्यले बुधबारदेखि सातौं कृषक दिवस तथा बृहत कृषि मेला प्रदर्शनी सुरु गरिएको हो ।
जिल्लाका विभिन्न ठाउँमा उत्पादन भएका कृषि उपजको प्रचार–प्रसार एवम् प्रतिष्पर्धा गराउँदै उत्कृष्ट कृषि उपज उत्पादन गर्ने कृषकलाई थप प्रोत्साहित तथा पुरस्कृत गर्न कृषि मेला प्रदर्शनीको आयोजना गरिएको जिल्ला कृषि विकास कार्यालय खोटाङका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद घिमिरेले बताउनुभयो । कृषि मेला प्रदर्शनीमा विभिन्न प्रजातिका खाद्यबाली, फलफुल, तरकारी, सागपात, दलहन तथा तेलहन, आलु, मसला, माछा, अलैंची, उखु लगायत स्थानीय रैथाने जातका कृषि उपजका स्टलहरु राखिएका छन् ।
कृषि व्यवसायको सम्मान र प्रोत्साहनका लागि जिल्लामा बिगत सात वर्षदेखि निरन्तर कृषि दिवसको अवसरमा कृषि मेला प्रदर्शनीको आयोजना गरिदै आइएको छ । जिल्ला विकास समिति, कृषि विकास कार्यालय लगायत दर्जनबढी गैर–सरकारी संघसंस्थाहरुको संयुक्त आयोजनामा सुरु गरिएको कृषि मेला प्रदर्शनी समापनको अवसरमा अघिल्लो वर्षहरुमा जस्तै जिल्लाका उत्कृष्ट पाँच कृषकलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
कृषि मेला प्रदर्शनीमा विभिन्न बाली समूहमा पहिलो, दोश्रो, तेश्रो र शान्त्वना स्थान प्राप्त गर्ने कृषकलाई पनि पुरस्कृत गरिने जिल्ला कृषि विकास कार्यालय खोटाङका प्राविधिक सहायक कौशलकुमार यादवले जानकारी दिनुभयो ।