खोटाङ, ६ माघ । डिजेलको भाउ घटाइएसँगै जिल्लामा सञ्चालित सबै सवारी साधनको भाडा पनि घटाइएको छ । बुधबारदेखि लागू हुनेगरि जिल्लामा सञ्चालित सबै सवारी साधनको भाडा घटाइएको हो ।
ठूला सवारी साधनले दिक्तेलबाट काठमाडौंका लागि एक हजार ५५० लिदैं आएको भाडा घटाएर एक हजार ४५० रुपैयाँ निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद खड्काले जानकारी दिनुभयो । प्रजिअ खड्काका अनुसार दिक्तेलबाट उदयपुरको गाईघाट र कटारीका लागि एक हजार रुपैयाँ लिंदै आएको भाडा घटाएर गाईघाटका लागि ९०० र कटारीका लागि ८५० रुपैयाँ लिन पाउनेगरि भाडा दर निर्धारण गरिएको छ ।
भाडा दर निर्धारण गरिएसँगै साना सवारी साधनले ठूलाले भन्दा १० प्रतिशत मात्र बढी भाडा लिन पाउने भएका छन् । साना सवारी साधनले काठमाडौंका लागि यस अघि प्रतिव्यक्ति दुई हजार २०० लिदैं आएको भाडा अबदेखि एक हजार ५९० रुपैयाँ मात्र लिन पाउने छन् ।
रात्रिकालिन यात्रामा दिक्तेलबाट कुबेलामा सवारी साधन हिडाउँने र यात्रुलाई आधाबाटोमा लगेर बास बसाउने गरेको गुनासो आएपछि अबदेखि दिक्तेलबाट रात्रिकालीन यात्रामा बेलुका ४ बजेपछि मात्र बस, जीप लगायतका रात्रिकालीन सेवाका सवारी साधन छुटाउन पाइने निर्णय भएको छ । काठमाडौंको लागि दिउँसो १ बजेदेखि सवारी साधन हिडाउँने र आधा रातमा खुरकोटमा पु¥याएर ५ घण्टा रोक्ने र यात्रुले गाडीमै बसिरहनुपर्ने समस्या रहेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय भेलाले सवारी साधन छुटाउने समय तालिका समेत निर्धारण गरेको हो ।