काठमाडौं १० माघ । सामान्य प्रशासन मन्त्रालयले दिक्तेल नगरपालिकाका अधिकृत नारायण ढकाललाई काजबाट फर्कन निर्देशन दिएको छ ।

निजामती कर्मचारी ऐन अन्तर्गत सामान्य मन्त्रालयको स्वीकृतिमा ३ महिनासम्म काज मिलाएर अन्य ठाउँमा जान मिल्ने भएपनि सो समय अवधि भन्दा बढी काज बसे पछि ढकाललाई सामान्यले नाम नै तोकेर यथास्थानमा फर्कन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई पत्र काटेको छ । ढकाल काज मिलाएर झण्डै दुई वर्षदेखि दिक्तेल नगरपालिकाको अधिकृतका रुपमा छन् । 

ढकालको दरबन्दी शिक्षा मन्त्रालयमा रहेको तर उनी लामो समयदेखि काज मिलाएर अन्यत्र नै बस्दै आएको देखिएको सामान्य मन्त्रालयका सहसचिव तथा प्रवक्ता राजेन्द्र पौडेलले हाम्रोखोटाङ डटकमलाई बताए ।

काज तथा पदस्थापना मिलाएर लामो समयसम्म अन्यत्र नै रमाउने, काममा ढिलासुस्ती गर्ने तथा सुगम र मालदार मन्त्रालय, सचिवालय, आयोग तथा निकायमा बढी मात्रामा कर्मचारी रमाउने गरेको पाइएको भन्दै कर्मचारीतन्त्रलाई व्यवस्थित गर्न मन्त्रालयले पुस २१ गतेदेखि काज फिर्ता तथा पदस्थापना फिर्ता अभियान चलाईरहेको छ । तर, सयौं कर्मचारीले भने काज फिर्ता हुन अटेर गरेपछि सामान्य मन्त्रालयले कारबाहीको थालनी गर्ने अन्तिम तयारी समेत गरेको मन्त्रालयका उपसचिव दिनेश सागर भुसालले जानकारी दिए ।

मन्त्रालयले अब अनुगमन गरेर काजमा नियमविपरित बढी समय खटाएको पाइएमा कार्यालय प्रमुखबाट तलब सुविधा असुल लगायतका कारबाही सुरु गरिने जनाएको छ ।

यसअघि, नियम विपरित काजमा रहेका सबै कर्मचारीलाई दरबन्दी कायम रहेकै स्थानमा फर्कन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि निर्देशन दिईसकेको छ ।