खोटाङ, १५ माघ । मिनिरल वाटर उद्योग सञ्चालन भएपछि जिल्लामा शुद्ध पिउने पानी उपभोग गर्न सहज भएको छ । दिक्तेल नगरपालिका–५ स्थित दिखुवा खोलाको मुहानबाट ‘खोटाङ अक्वा मिनिरल वाटर उद्योग’ सञ्चालन भएपछि जिल्लावासीलाई शुद्ध पिउने पानीका लागि सहजता भएको हो ।
तराईबाट आएको मिनिरल वाटर उपभोग हुँदै आएको जिल्लामा ‘मिर्मिरे जल’ नामक मिनिरल वाटर प्रशोधन तथा बिक्री बितरण सुरु भएपछि यसको उपभोक्तासमेत बढेका छन् । करिब दुई हजार १४८ मिटर उच्च लेकाली भेगबाट प्रशोधन हुने ‘मिर्मिरे जल’को माग बढ्दो रहेको सञ्चालक फुर्वा शेर्पाले जानकारी दिनुभयो । “उच्च भेगमा पानीको मुहान भएकाले आफैमा पनि स्वच्छ छ ।” उहाँले भन्नुभयो, “अझ शुद्धता ल्याउन बजारको माग अनुसार प्रशोधन गरेर बिक्री गर्न थालिएको हो ।”
विशेषगरि जिल्लामा सञ्चालित साना ठूला सबै किसिमका होटल, गेष्ट हाउस तथा पसलहरुबाट प्रशोधित पानीको माग हुने गरेको छ । दैनिक चार हजार लिटर बढी प्रशोधन क्षमता राख्ने उद्योगबाट सुरुवाती चरणमा हाल दैनिक ५०० लिटर पानी बजारमा गइरहेको शेर्पाको भनाइ छ ।
यसअघि जिल्लामा तराईबाट आएको पानी प्रति लिटर ३० देखि ३५ रुपैयाँमा खरिद÷बिक्री हुने गरेकोमा हाल उक्त उद्योगबाट प्रशोधित पानी होलसेलमा प्रतिलिटर १२ देखि १५ रुपैयाँमा पाउन थालिएको छ । प्रशोधित पानीलाई यातायात व्यवसायी संघ खोटाङले पायक पर्ने स्थानसम्म निःशुल्क ढुवानी गरिदिने गरेको छ ।
जिल्लामै पहिलो पटक उदाहरणीय ढङ्गले उद्यम गरेकोमा प्रोत्शाहन गर्दै सुरुवाती समयमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले ढुवानीमा सहयोग गरिएको संघका अध्यक्ष गणेश शाहीले जानकारी दिनुभयो । होटल तथ पसल बाहेक जिल्लामा आयोजना हुने औपचारिक कार्यक्रम, सभा÷समारोह, सेमीनार गोष्टी लगायतमा समेत उपभोग हुँदै आएको प्रशोधित पानीको पछिल्लो समय माग पनि बढेको छ ।
भर्खरै सञ्चालन भएको उद्योगमा अहिले चारजना कामदारले रोजगारी पाएकोमा बजार बिस्तारसँगै अन्य कर्मचारी समेत थपिने जनाइएको छ । एक वर्ष अगाडीदेखि निर्माण सुरु गरिएको ‘खोटाङ अक्वा मिनिरल वाटर उद्योग’ हालैबाट सञ्चालनमा आएपछि सदरमुकाम दिक्तेल, अर्खौले, बुइपा, हलेसीका साथै जिल्ला बाहिरसमेत निर्यात हुने गरेको छ ।
आफ्नै नाममा रहेको मुहानबाट खेर गइरहेको पानीबाट राम्रो सेवा दिएर उचित आम्दानी लिइरहेको युवा उद्यमी शेर्पाले उद्योग सञ्चालनका लागि केन्द्रीय उद्योग विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य संघ लगायतमा दर्ता गरिसक्नुभएको छ । प्रशोधन केन्द्र स्थापनाका लागि करिब ३० लाख लगानी गरिएको सञ्चालक शेर्पाले जानकारी दिनुभयो ।