खोटाङ, १६ माघ । खेल मैदान निर्माणका लागि आएको रकम खेलकुद विकास समितिका पूर्व अध्यक्ष र कार्यालय प्रमुखले हिनामिना गरेको खुलासा भएको छ । दक्षिणी क्षेत्रमा क्षेत्रीयस्तरको खेल मैदान निर्माणका लागि आर्थिक वर्ष २०७१/०७२ मा आएको पाँच लाख रुपैयाँ रकम तत्कालीन अध्यक्ष विनोद उदास र कार्यालय प्रमुख लिलाभक्त केसीले हिनामिना गरेको खुलासा भएको हो ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने सिम्पानी क्याम्पस सिम्पानीमा निर्माण गर्न लागिएको खेल मैदानका लागि आएको पाँच लाख रुपैयाँ रकम तत्कालीन अध्यक्ष र कार्यालय प्रमुखले कागजी प्रक्रिया मिलाएर हिनामिना गरेको स्थानीयले बताएका छन् । दक्षिणी क्षेत्रमा पर्ने गाविसका खेलाडीलाई लक्षित गरेर सिम्पानीमा निर्माण गर्न लागिएको खेल मैदानका लागि हालसम्म सर्वेक्षणको कामसमेत भएको छैन ।

खेल मैदान निर्माणका लागि आएको रकम सम्बन्धित ठाउँमा नपुगेपछि निर्माण उपभोक्ता समितिका पदाधिकारी पटक–पटक सदरमुकाम धाउने गरेका छन् । गत आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने योजनाको रकम हालसम्म नपाएपछि उपभोक्ता समितिका पदाधिकारी उजुरीसहित सदरमुकाम धाउने गरेका हुन् ।

तत्कालीन अध्यक्ष र कार्यालय प्रमुखले हिनामिना गरेको रकम तत्काल फिर्ता गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद खड्काले बताउनुभयो । “जुन शिर्षकमा आएको हो, त्यही शिर्षकमा खर्च हुनुपर्छ ।” उहाँले भन्नुभयो, “यदि त्यसो नगरेको खण्डमा कारबाही उनीहरुमाथि गरिनेछ ।”

अध्यक्ष र कार्यालय प्रमुखले तत्कालीन समयमा आएको अन्य रकमसमेत हिनामिना गरेको स्रोतले जनाएको छ । स्रोतले दिएको जानकारी अनुसार शितला मावि खाल्लेको खेल मैदान निर्माणका लागि आएको तीन लाखमध्ये एक लाख दिएर बाँकी रकम अध्यक्ष र कार्यालय प्रमुखले बाँडेको पाइएको छ ।

आफूहरुले चलाएको सबै रकम फिर्ता गर्ने तयारी गरिएको कार्यालय प्रमुख केसीले बताउनुभयो । “सबै उपभोक्ता समितिका पदाधिकारीलाई बोलाएका छौं ।” उहाँले भन्नुभयो, “उहाँहरु आउनासाथ सम्झौता गरेर रकमसमेत दिएर पठाउने तयारी गरेका छौं ।”