प्रमिला दाहाल/खोटाङ
भदौ–२९,   वीरवहादुर पुरीको त्यही जग्गा हो जहाँ बर्षभरिको खेतिलाई पैसामा हिसाव गर्दा दुई हजार रुपैंयाँ वरावरको उत्पादन हुने ग¥थ्र्यो । खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ तालखर्कका ५० वर्षिय पुरीले हाल सोही जग्गामा बार्षिक एक लाख रुपैंयाँ वरावरको उत्पादन गर्ने मेलो लिनुभएको छ । 
गर्न त उहाँले सो जग्गामा पहिले पनि खेती नै गर्नुहुन्थ्यो र अहिले पनि खेती नै । तर फरक यति छ की पहिले परम्परागत खेती अहिले आम्दानीमूलक व्यवसायिक तरकारी खेती ।  
लेकाली भेगको उहाँको जग्गामा पुस्तौंदेखि नै परम्परागत ढंगले मकै, कोदो आदि लगाउने गरिन्थ्यो । तर अहिले उहाँको वारीमा लटरम्म टमाटर, बन्दा, अकबरे खुर्सानी लगायतका तरकारीहरु ब्यवस्थित भएर फलेको देखिन्छ । 
तरकारीहरु केही टनेलाभित्र त केही वाहिरी भागमा देखिन्छन् । हमेसा उहाँ सोही तरकारीको स्याहार–सुसारमा ब्यस्त भेटिनुहुन्छ । 

‘बार्षिक २ हजार नि आम्दामी नहुने यस जग्गामा अहिले ६ महिना मा ५० हजार आम्दानी गर्ने सोँच छ ।’ उहाँ भन्नुहुन्छ–‘ हामीले यती सजिलै आम्दानी गर्न सकिन्छ भनेर त सोँचेको पनि थिईंन ।’ 

अनि कसरी यस्तो सोंच आयो त ? उहाँको सोझो जवाफ छ–‘वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि यस्तो सोँच आयो ।’ उहाँ खुलेरै सो कक्षा सञ्चालन गर्ने संस्था तथा वित्तीय साक्षरता सहजकर्तालाई धन्यवाद दिनुहुन्छ । 
‘आफ्नै माटोमा पनि पैसा रै’छ नि, पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने त होईन रै’छ !’  घरपरिवारसँगै बसेर आम्दानी गर्नुको आनन्द बेग्लै भएको उहाँको महशुष छ ।  वीरवहादुर सुनाउनुहुन्छ–‘घरमा सबै कुराको सरसल्लाह मिल्ने र सहयोग हुने रै’छ ,अहिले म यो वित्तीय साक्षरता कक्षालाई धेरै धन्यबाद दिन चाहान्छु ।’ उत्पादित तरकारी विक्रीका लागि वजारको पहुँच हुनका साथै सडक सुविधा समेत भएकोले मेहनत तथा तरकारी खेर नजानेमा उहाँ ढुक्क हुनुहुन्छ ।
वैदेशिक रोजगारीमा गएको परिवारका सदस्यहरुलाई प्रदान गरिने वित्तीय साक्षरता कक्षाको प्रभावले उहाँले घरैमा वसेर आम्दानी गर्ने उपाय निकाल्नुभएको हो । वैदेशिक रोजगारीम जाने सोँच बनाईसकेका जेठा छोरालाई समेत रोकेर व्यवसायिक तरकारी खेतीमा लागेको उहाँ सुनाउनुहुन्छ ।  सुरुमा उहाँको लगानी १५ हजार रुपैंयाँको मात्र रहेको छ । उहाँको कान्छा छोरा दुई वर्षदेखि वैदेशिक रोजगारीको क्रममा कतारमा हुनुहुन्छ । वाँकी घरमा भएका श्रीमति, जेठा छोरा तथा जेठी र कान्छी वुहारी सवै तरकारी उत्पादनमै जुटिरहेका छन् । 
 वीरवहादुरको परिवार  मात्र नभई वित्तीय साक्षरता कक्षामा सहभागी हुने सो गाउँका अन्य परिवार समेत आम्दानीमूलक ब्यवसायमा लागेका छन् । 
वालसेवा समाज नेपाल नेर्पाले सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत सञ्चालन गरेको २८ हप्ते कक्षाका कारण आम्दानी र वचत गर्ने वानीको विकास भएको सहभागी वताउँछन् ।  घरैमा पनि आम्दानी र वचत गरी आफन्तले दुःख गरी कमाएको वैदेशिक रोजागारीको रेमिट्यान्सलाई सदुपयोग गर्नुपर्छ भन्ने मान्यता सहभागीहरुको रहेको छ । अहिले हरेक जसो सहभागीले आम्दानी र खर्चको विवरण राख्ने तथा खर्च घटाई आम्दानी बढाउने अभ्यास गर्दछन् । वैदेशिक रोजगारीमा गएको परिवारले विभिन्न वैंक तथा वित्तीय संस्था, सहकारीमा नियमित वचत गर्नका साथै जीवन विमा समेत गराएका छन् । 
वित्तीय साक्षरतका कक्षावाट वैदेशिक रोजगारीमा जाने परिवारहरु सम्पन्नताको वाटोमा उन्मुख भएको स्थानीय जनप्रतिनिधि वताउँछन् । सो कक्षापछि गाउँमा ब्याप्त कुरा काट्ने , आरोप तथा लाञ्छना लगाउने जस्ता प्रचलन त्याग्दै सामुहिक छलफल, सामुहिक लगानी, उत्पादन तथा वचततर्फ स्थानीय जुटेका छन् । उक्त कक्षावाट एकअर्कामा सहयोगको भावनामा समेत विकास भएको पाईएको सामी परियोजनाका विद्यालय तथा आमसञ्चार कार्यक्रम संयोजक ओजोनवावु आचार्यले वताउनुभयो ।
वित्तीय साक्षरता कक्षामा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा उपलब्धीमूलक वनाउने विभिन्न उपायहरुवारे समेत छलफल गर्ने गरिएको छ ।