खोटाङ, १७ माघ । बाढीले पावर हाउस बगाएपछि अवरुद्ध बनेको खोटाङको तावा खोला लघुजलविद्युत आयोजना सञ्चालनमा आएको छ । गएको असार १९ गते तावाखोलामा आएको बाढीले बगाएको सात महिनापछि विद्युत गृह संचालनमा आएको हो ।
बाढीले क्षतिग्रस्त बनाएको जलविद्युत सञ्चालनमा ल्याउन कुनै निकायको सहयोग नपाएपछि स्थानीय बासिन्दा आफैले ३२ दिन श्रमदान गरेर अवरुद्ध विद्युत सञ्चालनमा ल्याएको जलविद्युत उपभोक्ता समितिका सचिव लोकप्रसाद राईले जानकारी दिनुभयो ।
खिदिमा–४, ५, ६, ७, ८ वडा तथा छितापोखरी–९ र मात्तिम–९ का चार/चार घरका गरी दुई सय ३३ उपभोक्ताले प्रयोग गर्दै आएको अवरुद्ध जलविद्युत आयोजना सञ्चालनमा आएपछि उपभोक्ताको जनजीवन सहज बनेको छ । १७ किलोवाट क्षमताको लघुजलविद्युतको पावरहाउस, नहर लगायतका संरचना बाढीले बगाएको थियो ।
विद्युत गृह सञ्चालनमा ल्याउनका लागि जनश्रमदान बाहेक प्राविधिक खर्च एक लाख २ हजार, ३० मिटर कटानका लागि दुई लाख २२ हजार गरी तीन लाख २४ हजार खर्च भएको समितिले जनाएको छ ।
विद्युत सञ्चालनमा ल्याउनका लागि उपभोक्ताबाट प्रतिघर एक हजारका दरले सहयोग उठाएको सचिव राईले बताउनुभयो ।