खोटाङ, १७ माघ । कुवा तथा पँधेरा सुकेपछि खोटाङको डुम्रेधारापानी गाविसमा खानेपानीको हाहाकार भएको छ । हिउँद लागेसँगै गाउँ नजिकका पानीको श्रोत सुकेपछि डुम्रेधारापानी–२, ७, ८ र ९ का बासिन्दा दैनिक पाँच घण्टा धाएर एक गाग्रो पानी ल्याउन बाध्य छन् ।
हिउँद लागेपछि गाउँभन्दा तल रहेको दूधकोशी वा रावा खोलाबाट पिउने पानी ल्याउने गरिएको स्थानीय बासिन्दा बुद्धिनाथ कोइरालाले बताउनुभयो । डुम्रेधारापानीमा घरपालुवा पशुपक्षीलाई समेत बोकेर ल्याइएको पानी खुवाउनुपर्ने बाध्यता छ ।
वर्षौँ अघिदेखिको पानीको समस्या समाधानका लागि कसैले पहल नगर्दा समस्या भोग्नुपरेको स्थानीय बासिन्दाको भनाई छ । खानेपानीको बिस्तारका लागि गाविसको सिंगो बजेटले समेत नपुग्ने भएपछि हरेक वर्ष सडक निर्माणमा बजेट खर्च गर्ने गरिएको छ ।