उत्तम चौलागाँई खोटाङ, २० माघ । फोक्सोमा पानी जमेको छ । असह्य तरिकाले छाती दुख्छ । हनहनी ज्वरो आउँछ, उत्तिकै टाउको दुख्छ । तर पनि अस्पतालको बेडमा बसेर यी सारा पीडाको सामना गरिरहेकी छन् खोटाङको छितापोखरी–२ की इन्दिरा खड्का । फोक्सोको क्यान्सर पीडित खड्का अहिले अस्पतालको बेडमा मृत्युसँग लडाई लडिरहेकी छन् ।

उपचाकारक्रममा गत बैशाखबाट घरबाट हिँडाइएकी इन्दिरालाई बिराटनगर, धरान र काठ्माण्डौंका पाँच वटा अस्पताल चाहारेपछि मात्र क्यान्सर भएको पत्ता लागेको हो । ‘बिरामी आमाको उपचारका लागि बैशाखमा घर छाड्यौँ,’ छोरा रुपेश खड्काले भने, ‘अस्पताल चाहार्दा चाहार्दा भदौमा टिचिङ अस्पताल पुगेपछि मात्र क्यान्सर भएको पत्ता पायौँ ।’ क्यान्सरका कारण इन्दिराको पेटमा जमीरहने पानी फालीरहनु पर्छ ।


हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका खड्का परिवारको उपचारका क्रममा १६ लाख खर्च भई सकेको छ । उपचारकै क्रममा उनीहरु ऋणको भुंग्रोमा परेका छन् । निम्न आर्थिक स्तरका खड्का परिवारले हालसम्म ऋणपान गरेरै बिरामीको उपचार गरिरहेका छन् । उनको उपचारका लागि खड्का परिवारलाई अस्पतालले अझै १५ लाख लाग्ने बताएको छ । परिवारका अनुसार इन्दिरालाई भने हालसम्म उनलाई क्यान्सर भएको बिषयमा जानकारी दिइएको छैन । भक्तपुर क्यान्सर अस्पतालका प्रमुख डाक्टर सुदिप श्रेष्ठले उनको ‘केश’लाई हेरिरहेका छन् । ‘आमाले मलाई के भएको, म निको हुन्न रे भनेर सोधीरहनु हुन्छ,’ रुपेशले भने, ‘आमाको उपचारका लागि चाहिने १५ लाख कहाँबाट व्यवस्था गरौँ, जे किन्न पनि पैसा चाहिन्छ, नचिनेको ठाँउमा मलाई कसले सहयोग गर्छ ?’ खान, बस्न बाहेक ईन्दिराको औषधि खरिदमा मात्र मासिक १० हजार खर्च भइरहेको छ ।

आमाको उपचारका लागि दौडधुप गर्नेक्रममा रुपेशको पढाई समेत चौपट भएको छ । आमाकै उपचारका क्रममा कक्षा १२ को परीक्षा दिनबाट समेत उनी बञ्चित भए । गत बैशाखमा घरबाट हिँडेका उनी हालसम्म घर फर्किन पाएका छैनन् । उपचारका नाममा प्रायः सबै आफन्तबाट ऋण लिइएको रुपेशले बताए । ‘ऋण नलिएको आफन्त बाँकी छैन,’ उनले भने, ‘एक दिन कमाएर तिर्छु भन्दै ऋण लिएर आमाको उपचार गराईरहेको छु ।’ अस्पतालका डाक्टरले इन्दिरालाई ७ महिनाको ‘डेट’ दिएका छन् । त्यसमध्ये उनको पाँच महिना पूरा भइसकेको छ । सात महिना पार गराउन सकिए औषधिका भरमा भएपनि इन्दिरालाई बचाउन सकिनेमा उनका परिवार आशाबादी छन् । रुपेशका दुई बहिनी र एक भाई घरमा बाबुसंँग घर व्यवहार सम्हाली रहेका छन् । दशैंतिहार लगातका चाडवाड आए गए तर खड्का परिवारलाई त्यसको अत्तोपत्तो भएन ।

स्वस्थ शरीरमा महिना दिनसम्म अचानक छाती दुख्न थाल्दा, टाउको दुख्दा, ज्वरो आउँदा इन्दिराले सहेरै बसिन् । बिमार ‘बीसको उन्नाईस्’ नभएपछि उनलाई सुरुमा बिराटनगरको गोल्डेन अस्पतालमा पुर्‍‍याईयो । रोग पत्ता नलागेपछि क्रमशः कोशी  अञ्चलअस्पताल बिराटनगर, बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगियो । धरान पुर्‍याईएपछि मात्र उनको फोक्सोमा पानी जमेको पत्ता लाग्यो । फोक्सोमा पानी जमेकाले क्षयरोग लागेको आशंकामा पानी तान्न बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले काठ्माण्डौं रेफर गर्‍यो । काठ्माण्डौंको मनमोहन अस्पतालमा पुर्‍याइएका इन्दिरालाई लगत्तै टिचिङ अस्पताल पुर्‍याईयो ।

जहाँ पानी तानेर परिक्षण गर्दा उनको फोक्सोमा क्यान्सर भएको प्रमाणित भएको थियो । टिचिङकै सुझावमा उनलाई भक्तपुर क्यान्सर अस्पताल पुर्‍याइएको रुपेशले जनाए । फोक्सोको अन्य ठाँउमा पनि क्यान्सर फैलिएकाले उपचारका लागि १५ लाख भन्दा बढि खर्च लाग्ने अस्पतालले भनेको छ । ‘आमाको उपचारका लागि मैले यत्रो रकम कसरी जुटाउन सक्छु,’ उनले रुँदै भने, ‘सबैको सहयोग पाएँ भने मात्र आमालाई बचाउन सक्छु ।’

इन्दिराको उपचार सहयोगार्थ रकम संकलन गर्न भक्तपुर क्यान्सर अस्पतालले सिफारिस–पत्र बनाई दिएको छ । गाविसको कार्यालय छितापोखरीले पनि शुभेच्छुकबाट सहयोग लिनका लागि सिफारिस थमाई दिएको छ । आर्थिक अभावमा क्यान्सरको उपचार गराउन नसकिरहेका इन्दिराको सहयोगार्थ छितापोखरी गाविसको परिषदले १० हजार, चिप्रिङ गाविसको गाँउ परिषदले १० हजार र सप्तेश्वर  छितापोखरी गाविसको परिषदले ५ हजार छुट्याएको छ ।

क्यान्सरको उपचार गराइरहेका इन्दिरा परिवार अहिले संकटमा छ । उनलाई यति बेला सबैको सहयोगको खाँचो छ । त्यही भएर मानवीय नाताले सहयोग गरेर उनको जीवन रक्षा गर्नु हाम्रो दायित्व हो । अव उनको जीवन बाँच्नु नबाँच्नुमा तपाई हाम्रै हातमा छ ।