खोटाङ, २१ माघ । जिल्ला प्रशासन कार्यालय खोटाङले दिक्तेलका २० वटा खुद्रा तथा होलसेल पसलबाट म्याद नाघेका दैनिक उपभोग्यवस्तु भारीमात्रामा जफत गरेको छ । व्यापारीहरुले म्याद नाघेका उपभोग्यवस्तु बिक्रीबितरण गरिरहेको गुनासो आएपछि प्रशासनले बिहीबार गरेको बजार अनुगमन क्रममा फेला पारेका म्याद नाघेका दैनिक उपभोग्यवस्तु जफत गरेको हो ।

दिक्तेलस्थित आरडी सप्लायर्स, समिता स्टोर, सुमन किराना पसल, न्यू काव्रे स्टोर, स्नेहा टेड्रर्स, रोशा स्टोर्स, रेश्मा एण्ड रामलक्ष्मण स्टोर, रेविका किराना पसल, खप्तडी बस्नेत स्टोर, जोश्ना स्टोर्स, रायमी सम्पामी पसल, कठेत टे«ड एण्ड सप्लायर्स, विशाल ईन्टरप्राइजेज, क्रिश करण किरना पसल, राधा किरना पसल, रविन स्टोर्स, बुढाथोकी ट्रेड एण्ड सप्लार्यस, खड्ग किराना पसल, गणेश किरना पसल र दिनेश किराना पसलबाट म्याद नाघेका दैनिक उपभोग्यवस्तु जफत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दिनेश कुमालले बताउनुभयो । दिक्तेलका ४७ वटा पसलमा गरिएको अनुगमनका क्रममा २० वटा खुद्रा तथा होलसेल पसलबाट म्याद नाघेका उपभोग्यवस्तु भारीमात्रामा जफत गरिएको सहायक प्रजिअ कुमालको भनाइ छ ।

अनुगमन टोलीले थुक्पा, चाउचाउ, जुस, पापट, बिस्कुट, बेसार, चिया, सुर्ती, चक्लेट, मसला लगायत म्याद नाघेका दैनिक उपभोग्यवस्तु जफत गरेको छ । नाकाबन्दीको नाममा गरिने कृतिम अभाव, कालोबजारी एवम् म्याद नाघेका सामानको बिक्रीबितरण भइरहेको उपभोक्ताबाट गुनासो आएपछि नियन्त्रणका लागि प्रशासनले बजार अनुगमन गरेको हो ।

अनुगमन टोलीले सन् २०१४ को अन्त्यतिरै म्याद नाघेका बिस्कुट समेत फेला पारेको छ । अनुगमनका क्रममा जफत गरिएका सामानलाई जलाइने सहायक प्रजिअ कुमालको भनाइ छ ।