खोटाङ, १ फागुन । नेपाल विद्युत प्राधिकरण खोटाङमा ५९ लाख बढी विद्युत महशुल उठ्न बाँकी रहेको छ । प्राधिकरणले दिएको जानकारी अनुसार गत पुस मसान्तसम्ममा ५९ लाख ३४ हजार १८४ रुपैयाँ महशुल उठ्न बाँकी रहेको हो । 
विद्युत महशुल बुझाउन ग्राहकलाई पटक–पटक ताकेता गर्दा पनि बेवास्ता गरेको प्राधिकरणका प्रमुख पुरुषोतम रेग्मीले जानकारी दिनुभयो । महशुल नबुझाउनेमा अधिकांश ग्रामिण क्षेत्रका ग्राहक रहेका छन् । 
महशुल नबुझाउनेमा सरकारी तथा गैरसरकारी कार्यालय पनि उत्तिकै मात्रामा रहेका छन् । महशुल बक्यौता नतिर्ने कार्यालयमध्ये जिल्ला कारागार अग्रपङ्तीमा रहेको छ । 
विद्युत महशुल नबुझाउने ग्राहकको लाईन काट्ने तयारी गरिएको रेग्मीले जानकारी दिनुभयो । “महशुल नबुझाउने ग्राहकको नामावली तयार गरिसकिएको छ ।” उहाँले भन्नुभयो, “नामावली तयार हुनासाथ लाईन काटिनेछ ।”  
बाँकी बक्यौता रकम उठाउनका लागि प्राधिकरणले कडाइका साथ अभियान सञ्चालन सुरु गरेको छ । अहिलेसम्म जिल्लाका ३९ गाविस र एक नगरपालिकामा विद्युत प्रशारण गरिएको छ ।