आफ्नो सोझोपनको फाइदा उठाएर आरिसेहरुले छोरालाई खोलामा फाल्न लगाएको थाहा पाएपछि आमा विक्षिप्त बन्छिन् । अन्नतः त्यही बिलौनीमै उनको मृत्यु हुन्छ । मृत्युपछि आत्मा चरा बन्छ र ‘थिबेऊ ! थिबेऊ !!’ भन्दै खोलैखोला आफ्नो छोरा खोज्दै हिड्छन् । ती महिला नै चराको रुपमा थिबेको आमा थिबिया हुन् ।
पूर्वी पहाडी जिल्लाका किराती बस्तीहरु हुँदै बग्ने खोलाहरुमा जबजब वर्षा याममा बाढी आउँछ, त्यो चरा बाढी पछ्याउँदै तल माथि माथि तल गरिरहेको देखिन्छ ।
यही मिथकलाई आधार मानेर मुन्धुमी मुलधारमा आधारित बिल्कुलै फरक तर ऐतिहासिक किराती सभ्यता तथा मौलिक परम्परामा आधारित किराती मिथकीय गीति भिडियो संग्रहको नाम राखिएको हो ‘थिबिया’ । जुन गीति भिडियो संग्रहले पछिल्लो समय नेपाली सांगीतिक बजारमा चर्चा पाईरहेको छ । गायिका जानुका राईद्वारा स्वरबद्घ तथा सांस्कृतिक अभियन्ता कपिल राईद्वारा निर्मित गीति भिडियो संग्रह ‘थिबिया’को बिशेष प्रदर्शनीमा दर्शकको भीड लागेको छ । सदरमुकाम दिक्तेलस्थित समीक्षालय हलमा किरात राई साँस्कृतिक कलाकार संघको सहयोगार्थ आयोजना गरिएको बिशेष प्रर्दशनीमा भीड लागेको दर्शकले गीति भिडियोहरुलाई मन पराएका छन् । नेपाली गीतसंगीतले अरुको नक्कल गर्दै पाश्चात्य बाटो समाईरहेको बेला यो कार्य उदाहरणीय र प्रशंसनीय रहेको दर्शकको प्रतिक्रिया छ ।
‘थिबिया’ सिङ्गो किराती समुदायलाई आफ्नो समाज बुझ्ने सानो, तर महत्वपूर्ण सांस्कृतिक गीति भिडियो संग्रह रहेको जनाईएको छ । हालसम्म इतिहास, जीवनशैली र सांस्कृतिक परम्परा मौखिक रुपमा मात्र रहेका किराती राईहरुको लागि यो आफ्नो इतिहासको दस्तावेज भएको किरात राई बिश्लेशकहरुको बिश्लेषण छ ।
खोटाङ लगायतका किरात बस्ती तथा थातथलोमा छाँयाङकन गरिएको भिडियो संग्रहमा ४ वटा किराती इतिहास तथा संस्कृतिमा आधारित मिथकीय गीतहरु समेटिएको छ ।
यसअघि, किराती मौलिकता, इतिहास, संस्कार संस्कृति तथा इतिहास र मिथकमा आधारित ‘लिम्चिङबुङ’ गीति भिडियो संग्रह, ‘बिनायो’ चलचित्रलगायतमा गायिका राईले स्वर दिईसकेकी छिन् । गीति भिडियो संग्रहमा जनक राई, रोशन राई र भुपेन्द्र राईको निर्देशन रहेको छ । थिबियामा गीतकारहरु बीरेन्द्र राई, भुपाल राई, टीका चाम्लिङ र खुक्सङ खम्बुको शब्द तथा वरिष्ठ गायक तथा संगीतकार जीतेन राई ,शान्तिराम राई, शुरेस अधिकारी र मनोज साङसोङको संगीत रहेका छन् । एल्बमको म्युजिक भिडियोमा पशुपति राई, सन्ध्या साम्पाङ राई, पवन राई, कोशिष राईलगायतका कलाकारहरुले अभिनय गरेका छन् ।