खोटाङ, २ फागुन । किरात राई साँस्कृतिक कलाकार सङ्घ खोटाङको अध्यक्षमा जीवन राई चयन हुनुभएको छ । सङ्घको आईतबार सम्पन्न दोश्रो जिल्ला सम्मेलनबाट राई अध्यक्षमा निर्विरोध चयन हुनुभएको हो ।

१३ सदस्यीय सङ्घको उपाध्यक्षमा प्रेमिला राई, सचिव निर्मल राई, सहसचिव शुभचन्द्र राई र कोषाध्यक्षमा सन्जिप राई चयन हुनुभएको छ । सबै विधालाई समेटेर निर्माण गरिएको सङ्घको सल्लाहकारमा भिमसेना राई, दानबहादुर राई, बेदीकुमार राई, नरेन्द्र निर्बिकार र पर्खनबहादुर राईलाई चयन गरिएको छ ।

नव गठित समितिले जिल्लामा किरात राईहरुको साँस्कृतिक गतिविधिलाई तीब्रता दिने निर्णय गरेको छ । किरात सँस्कार, सँस्कृतिको खोज, अनुसन्धान तथा संरक्षण, साँस्कृतिक गीति एल्वम् निर्माण, प्रारम्भिक कमिटी बिस्तार गर्ने लगायतको गतिविधिलाई तिब्रता दिने निर्णय गरेको हो ।

यसअघि निस्कृय जस्तै रहेको कलाकार सङ्घले दोश्रो अधिवेशन सम्पन्न भएसँगै गतिविधिलाई तीब्रता दिने योजना बनाइएको नव गठित समितिका अध्यक्ष राईले जानकारी दिनुभयो । निर्विरोध चयन भएको संघको पहिलो बैठकबाट गतिविधिलाई तीब्रता दिदैं संस्थाको औचित्य, नीति तथा उदेश्यलाई पुरा गर्ने अध्यक्ष राईको भनाइ छ । 

किरात राई साँस्कृतिक कलाकार सङ्घको केन्द्रीय उपाध्यक्ष जनक राईको प्रमुख आतिथ्यमा शनिबार दोश्रो जिल्ला सम्मेलन उद्घाटन भएको थियो । उद्घाटन समारोहमा किराती मिथकमा आधारित गीति भिडियो ‘थिबिया’ समेत प्रदर्शन गरिएको थियो ।