रामधन राई/खोटाङ, खोटाङ, ६ फागुन ।  ‘प्रेमगीत’को कभर गीत गायन प्रतियोगितामा खोटाङका गायक सागर संसार राई उपाधी नजिक पुग्ने देखिएको छ । पछिल्लो समय आधुनिक गीत गायनको क्षेत्रमा आफुलाई प्रतिभाशाली साबित गराउँदै यसअघि पनि अधिराज्यब्यापी गायन प्रतियोगिताहरुमा बिजयी बनिसकेका गायक राईले ‘प्रेमगीत’को कभर गीत गायनको फागुन १० गते हुने उत्कृष्ट १० छनौटमा आफु र आफुसँगै गाउने ईलामकी सुनिता थेगिम पर्ने लगभग पक्का भएको बताएका छन् । 

सामाजिक सञ्जाल युट्युबमा गाईएको गीतको भ्युअर्स तथा गायकीको आधारमा प्रतिभा छनौट गरिने प्रतियोगितामा पाँच सय उनन्साठी जना सहभागीमध्ये सागर र सुनिता उत्कृष्ट दशमा पर्ने पक्का भएको हो । फागुन २० गते अन्तिम छनौट गरिने प्रतिस्पर्धामा राम्रो प्रतिभा भएर पनि युटुबमा कम दर्शक पाएका ५ जनालाई समेत प्रतिस्पर्धामा राखेर उत्कृष्ट १५ बनाइने जनाईएको छ ।

बिजेतालाई १ लाख नगद प्रदान गर्नुको साथै उत्कृष्ट १५ प्रतियोगीहरुलाई कलर्स मोबाइल प्रदान गरिने छ । ‘मनको आशा’ र ‘सम्झौता’ गीति एल्बममार्फत आफुलाई सार्बजानिक गराईसकेका राईले थुप्रै कलेक्सन गीतहरु गाईसकेका छन् । सुम्निमा कल्चर एकेडेमी ललितपुरले आयोजना गर्ने गरेको एलम्बर संगीत प्रतियोगिता र सुम्निमा आईडलको उपाधी आफ्नो नाममा दर्ता गराएका गायक राईले रेडियो नेपालद्वारा आयोजित अधिराज्यब्यापी गीत प्रतियोगितामा दोश्रो स्थान हासिल गरिसकेका छन् । जिल्लास्तरीय गायन प्रतियोगिताहरुमा अब्बल स्थान कायम गर्दै राष्ट्रिय प्रतियोगिताहरुमा अग्रस्थान पक्का गर्न थालेका राई हाल सुम्निमा कल्चर एकेडेमी ललितपुरमा संगीत सिकिरहेका छन् । 

गायक राई जस्तै गायिका थेगिम पनि राम्रो सम्भावना भएकी उदाउदो गायिका हुन् । राई र थेगिमको गायनले युट्युब भ्युअर्स तानेका छन् ।  सुदर्शन थापाले निर्देर्शन गरेको यो चलचित्रलाई सन्तोस सेनले निर्माण गरेका हुन् भने चलचित्रमा पुजा शर्मा र प्रदिप खड्काको मुख्य भूमीका रहेको छ । 

आसुसेन फिल्मसको व्यानरमा बनेको ‘प्रेमगीत’ चलचित्रको यो शीर्ष गीतमा सुगम पोखरेल र अन्जु पन्तले स्वर दिएका छन् । यस चलचित्रका सम्पूर्ण  गीतहरुमा अर्जुन पोखरेलको सङ्गीत सुन्न सकिन्छ । प्रेमगीत फागुन १२ गतेबाट प्रदर्शनमा आइसकेको छ ।