
खोटाङ, ८ फागुन । मध्यपहाडी लोकमार्गबाट खोटाङको सदरमुकाम दिक्तेल प्रवेश गर्ने मुख्य प्रवेशद्धारलाई किरात चौक नामाकरण गरिएको छ । किरात राई यायोख्खा खोटाङको सातौं जिल्ला अधिवेशनको अवसर पारेर शुक्रबार मध्यपहाडी लोकमार्गबाट दिक्तेल प्रवेश गर्ने मुख्य प्रवेशद्धारलाई किरात चौक नामाकरण गरिएको हो ।
माझ किरातको प्रमुख केन्द्रबिन्दु खोटाङलाई संघीय संरचना अनुसार विकास गर्दै लैजाने उद्देश्यका साथ किरात चौक नामाकरण गरिएको यायोख्खाका निवर्तमान सचिव युगशन किरातले बताउनुभयो । किरातीहरुको बाक्लो वस्ती रहेको सो क्षेत्रमा यायोख्खाका केन्द्रीय सदस्य तथा किरात राई कलाकार संघका केन्द्रीय उपाध्यक्ष जनक राईले बोर्ड राखेर किरात चौकको नामाकरण गर्नुभएको हो ।
किरात चौक नामाकरणका लागि यायोख्खाले जिल्लास्थित राजनीतिक दल, सरोकारवाला, स्थानीयवासी लगायत सबैसँग सल्लाह लिएको थियो । राजनीतिक दल, सरोकारवाला निकाय र स्थानीयवासीको सल्लाह अनुसार सो क्षेत्रलाई किरात चौकको नामाकरण गरिएको यायोख्खाले जनाएको छ ।
७२ गाविस र एक नगरपालिका रहेको खोटाङमा ४३.१ प्रतिशत किरातीहरुको बसोवास रहेको छ । आगामी दिनमा जिल्लास्थित किरातीहरुको ऐतिहासिक थातथलोलाई संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्दै लैजाने यायोख्खाले जनाएको छ ।