खोटाङ, ९ फागुन । खोटाङको अर्खौलेमा आठौँ जिल्ला स्तरिय सितोरियो कराँते प्रतियोगीता सञ्चालन हुने भएको छ । सदरमुकामबाट पश्चिमी क्षेत्रमा रहेको अर्खौलेमा फागुन १७ र १८ गते जिल्ला स्तरिय सितोरियो कराते प्रतियोगीतासँगै चौथो राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगीता सञ्चालन गर्न लागिएको हो । सितोरियो करातेका संस्थापक प्रशिक्षक थानेश्वर राईको जन्मथलो अर्खौले बजारलाई खेलकुद पर्यटकीय नगरीकारुपमा बिकास गर्नकालागि जिल्ला स्तरिय सितोरियो कराँते प्रतियोगीता तथा राष्ट्रपति कप रनिङ शिल्ड सञ्चालन गर्न लागिएको आयोजक नेपाल कराते सितोरियो कराते शाखा डोजो अर्खौलेले जनाएको छ ।
कराँते लगायत अन्य क्षेत्रका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्दै जिल्लालाई परिचित गराउने लक्ष्यकासाथ प्रतियोगीताको तयारी गरिएको कार्यक्रम संयोजक मन्दीप श्रेष्ठले आईतबार माटिकोरे कबर्डहलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
जिल्ला स्तरिय सितोरियो कराते प्रतियोगीतामा जिल्लाका दिक्तेल माटिकोरे डोजो, दिक्तेल हाटडाँडा डोजो, सोल्मा डोजो दिक्तेल लगायत ८ डोजोका ७२ महिला र ७२ पुरुष खेलाडीको प्रतिष्पर्धा हुने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । अर्खौलेमा प्रतियोगीता सञ्चालन हुने भएपछि व्यवसायी, समाजसेबी र स्थानीय उत्साहित भएको सितोरियोका पुर्व खेलाडी किशोर श्रेष्ठले बताए ।
राष्ट्रपति कपमा सरस्वती उच्च माबि दिक्तेल, दिक्तेल अंग्रेजी आबासीय उच्च माबि दिक्तेल, स्याम्पल एकेडेमी दिक्तेल लगायतको सहभागीता रहने आयोजक समितिका संयोजक श्रेष्ठले बताए । राष्ट्रपति कपमा २८ महिला र २८ पुरुष खेलाडीले प्रतिष्पर्धा गर्नेछन् ।