खोटाङ, १९ फागुन । खोटाङको दुबेकोलमा भएको डकैतीमा संलग्न फरार आरोपित प्रहरीले दुई वर्षपछि पक्राउ गरेको छ । २०७० साल मंसिर–११ गते राती दुबेकोल–१ का मानबहादुर बिश्वकर्माको घरमा डकैती गरेर फरार रहेका धरान उपमहानगरपालिका–१५ का ३४ वर्षीय सनम तामाङलाई प्रहरीले पक्राउ गरेको हो । डाँका तथा हातहतियार खरखजना मुद्ध चलाइएको तामाङलाई जिल्ला प्रहरी कार्यालयको समन्वयमा ईलाका प्रहरी कार्यालय धरानले घरैबाट नियन्त्रणमा लिएको हो ।
धरान प्रहरीले पक्राउ गरेर खोटाङ पठाएका तामाङलाई जिल्ला प्रहरी कार्यालय खोटाङले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । लामो समयदेखि फरार रहेको अभियुक्तलाई पक्राउ गर्ने अभियानकाक्रममा तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक सरोज राईले बताए ।
तामाङसँगै डकैँतीमा संलग्न खोटाङको माक्पा–८ का २२ वर्षीय बिकास बिश्वकर्मा, माक्पा–९ का २९ वर्षीय नवराज राई, भोजपुर वालाङ्खा–१ का २५ वर्षीय उपेन्द्र राई र धादिङ भूमीस्थान–७ का २४ वर्षीय शंकर घलान घट्नाको भोलीपल्टै लुटेको सामान र पेस्तोलसहित रभुँवाबाट पक्राउ परेका थिए ।
तामाङ सहित ६ जनामाथि सिक्सर पेस्तोल देखाएर बिश्वकर्मालाई नियन्त्रणमा लिएर घरबाट नगद २५ हजार, तामा र चाँदीको आधा केजी तौलको पूरानो सिक्का, एक हजार पाँच सयको घडी, कपडा राखेको सुटकेस, नसिलाएको दौरासुरुवालको तीन जोर कपडा, दुई थान ज्याकेट लगायतका सामान लुटेको अभियोग छ । प्रहरी निरिक्षकका अनुशार डकैतीपछि फरार रहेका दुईजना मध्ये अझै एक जना फरार छन् ।