खोटाङ, २३ फागुन । जिल्ला निर्वाचन कार्यालय खोटाङले जिल्लाको सत्ताईस गाविसमा फोटोसहितको मतदाता नामावली संकलन अभियान सञ्चालन गर्ने भएको छ । कार्यालयले यसअघि सञ्चालन गरेको अभियनमा सबैभन्दा बढी छुट भएका सत्ताईस गाविसमा आगामी चैत–१५ गतेबाट अभियान सञ्चालन गर्ने भएको हो ।
तीनवटा टोली बनाएर सञ्चालन गरिने अभियान बतासे, सिम्पानी, बाराहापोखरी, फाक्टाङ, देविस्थान, चिसापानी बडकादियाले, लिकुवापोखरी, वाप्लुखा, च्यास्मिटार, मङ्गलटार, धितुङ, बुइपा, राजापानी, आख्रेडाँडागाउँ, मात्तिम, च्यानडाँडा, दोर्पाचिउरीडाँडा, पाथेका, खार्ताम्छा, सुङ्देल, बाक्सिला, ऐसेलुखर्क, महेश्वरी, डुम्रेधारापानी, हौंचुर र लामीडाँडामा सञ्चालन हुने जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो । अभियानका क्रममा सोह्र वर्ष पुगेका सबै नागरिकको नामावली फोटोसहितको मतदाता नामावलीमा समाबेश गरिने खत्रीको भनाइ छ ।
अभियानबारे कार्यालयले आइतबार बिहान जिल्ला विकास समितिको सभाहलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवाला सबैसँग सहयोग गर्न अनुरोध गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको बिस्तार, स्वतन्त्र र निष्पक्ष निर्वाचनको पूर्वाधार’ भन्ने नाराका साथ महिना दिनसम्म मतदाता नामावली संकलन अभियान सञ्चालन हुने जनाइएको छ ।
वि.सं. २०६८ सालको जनगणना अनुसार दुई लाख २७ हजार ३०६ जना जनसंख्या रहेको जिल्लामा गत २०७१ चैत मसान्तसम्ममा एक लाख सात हजार ७८८ जनाको नामावली फोटोसहितको मतदाता नामावलीमा समाबेश गरिएको छ । त्यसयता जिल्ला प्रशासन र निर्वाचन कार्यालयमा आउने नागरिकको नामावली संकलन भइरहेको छ ।